☰ open Loading... 24 October 2024|  

महिलाको अगुवाइमा छाउपडीमुक्त गाउँ घोषणा
  | २६ मंसिर २०७३, आईतवार ०८:३२

यहाँको लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ । स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो ।

हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिइन । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उनले बताइन ।

“हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ” – खुसी व्यक्त गर्दै माया कामीले भनिन । रुप्सी न्यौपानेले यहाँका महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बताइन । उनले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप÷सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो स्थानमा पु¥याएको बताइन ।

लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिए ।  स्वास्थ्य चौकी इञ्चार्ज गुरुप्रसाद चौलागार्इंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिए ।

स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–ग्रुप÷सर्वोदय नेपालको सहभागितामा विधिवत् रुपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिए ।

परम्परागत रुपमा जरो गाडेको कुप्रथा अन्त्यको घोषणा गरिरहँदा यहाँका महिलाले घाेषणा भएको दिनलाई निकै ठूलो खुसियाली र सुखको दिनका रुपमा लिएका थिए ।