☰ open Loading... 20 April 2024|  

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना
  | २७ मंसिर २०७३, सोमबार ०९:४३

वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।

यद्यपि सो क्षेत्रमा अझै विद्यालय उमेरका ११५ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी विद्यालय बाहिर रहेका बालबालिकामध्ये अधिकांश घरमा अभिभावक नभएका रहेको शिक्षा अधिकृत प्रमिला घर्तीमगरले बताइन ।

गरिबीका कारण सानै उमेरमा बाबुआमासँग इँटाभट्टा जाने, साथीको लहलहैमा विद्यालय छोड्ने बालबालिकाको सङ्ख्या पनि यथेष्ट रहेको घर्तीकाे भनाइ छ ।

त्यस्ता बालबालिकालाई लक्षित गरी सो क्षेत्रमा विगत तीन वर्षदेखि वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । विगत दुई वर्षभित्र सञ्चालित ३९ वटा वैकल्पिक कक्षामा अध्ययन गरेका ३५१ बालबालिका विद्यालय भर्ना भएको हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

कार्य क्षेत्रभित्र पर्ने सबै गाविसका विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक शिक्षामार्फत विद्यालयभित्र ल्याउने गरी काम भइरहेको आचार्यले जानकारी दिए ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन तथ्याङ्क सङ्कलन एवम् अभिभावकसँग परामर्श गरी सहजीकरण गर्ने काम विद्यालय स्रोत व्यक्तिले गरिरहेको छ ।