☰ open Loading... 24 November 2024|  

अव सवै प्रदेशमा चिडियाखाना स्थापना गरिने
  | ५ पुष २०७३, मंगलवार १०:३०

काठमाडाैं । वन मन्त्रालयले मुलुकका सबै प्रदेशमा चिडियाखाना (प्राणी उद्यान) बनाउन अध्ययन सुरु गरेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेटमा मुलुकका सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्ने घोषणा गरिएको थियो ।

वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या–पर्यटन प्रवद्र्धनका लागि ‘एक प्रदेश एक प्राणी उद्यान’ (चिडियाखाना) स्थापना गर्ने सरकारको लक्ष्य छ । पहिलो चिडियाखाना ४ नम्बर प्रदेशको तनहुँमा स्थापना गर्न लागिएको छ । तनहुँ गृहजिल्ला भएका वनमन्त्री शंकर भण्डारीको प्रस्तावमा ४ नम्बर प्रदेशको घाँसीकुवा गाविसमा चिडियाखाना निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ ।

चिडियाखाना प्रस्ताव गरिएको स्थान अवलोकन गर्न मन्त्रालयको योजना महाशाखा प्रमुख पेमनारायण कँडेलको नेतृत्वमा टोली यसै साता तनहुँ जाँदैछ । टोलीमा मन्त्रालयका उपसचिव यज्ञनाथ दाहाल, जिल्ला वन अधिकृत (डीएफओ) अम्बिका पौडेल, वन्यजन्तु विभागका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोष र हरियो वन कार्यक्रमका विषयविज्ञसमेत हुनेछन्

 ‘स्थलगत अध्ययनपछि चिडियाखाना निर्माण प्रक्रिया अघि बढाउनेछौं,’ सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्न गठित अध्ययन समितिका संयोजकसमेत रहेका प्रवक्ता कँडेलले भने, ‘यसबारे टोली बनाएरै अध्ययन गरिरहेका छौं ।’

उनका अनुसार मन्त्रालयले अन्य प्रदेशमा चिडियाखाना स्थापनाका लागि सम्भावित स्थानको नाम प्रस्ताव गर्न निकुञ्ज विभागलाई निर्देशन दिइसकेको छ । चालु आर्थिक वर्षमा कम्तीमा तीनवटा प्रदेशमा चिडियाखाना स्थापनाका लागि प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

तीनवटा प्रदेशमा चिडियाखाना स्थापनाको अध्ययनका लागि करिब करोड रुपैयाँ बजेट विनियोजन भइसकेको निकुञ्ज विभागले जनाएको छ । यसैबीच मन्त्रालयले भक्तपुरको सूर्यविनायकमा ‘राष्ट्रिय प्राणी उद्यान’ निर्माण भइरहेको जनाएको छ । अहिले जावलाखेलमा रहेको सदर चिडियाखाना सूर्यविनायकमै सार्ने तयारी गरिएको छ ।

इकान्तिपुर