☰ open Loading... 7 September 2024|  

मन्दिरमा देउकेटा
  | ५ पुष २०७३, मंगलवार १०:३९

दैलेख । आधुनिक समाजमा कलंककै रूपमा रहेको देउकी प्रथा क्रमश: हराउँदै गए पनि तल्लो डुंगेश्वरको शिव महादेव मन्दिरमा कुमार केटा चढाउने देउकेटा प्रथा अझै कायम छ ।

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

‘भगवानलाई खुसी पार्न मन्दिरमा कुमार कन्या चढाउने’ देउकी प्रथाकै झझल्को दिने देउकेटा प्रथा हटन नसकेको हो । १६ वर्ष पार नगरुञ्जेल कुमारले पूजाआजा र मन्दिरको हेरचाह गर्ने प्रचलन छ ।

शिव महादेव मन्दिरमा अहिले जीवन गिरी देउकेटाको भूमिका निर्वाह गरिरहेका छन् । कुमार केटाले पूजाआजा नगरे आफ्नो परिवारका साथै दर्शनार्थीहरूलाई समेत क्षति हुने विश्वास रहिआएको छ । ३ कक्षामा पढदादेखि नै पुजारीका रूपमा मन्दिर प्रवेश गरेका १४ वर्षीय जीवनले अहिले देउकेटा प्रथालाई निरन्तरता दिइरहेका छन् ।

यसअघि जेठो दाइ प्रेमदेव, त्यसपछि माइलो दाइ चन्द्रदेव देउकेटा थिए । उनीहरूको विवाहपछि जीवनले पूजापाठ गर्न थालेका हुन् । जीवनले पुर्खौंदेखि चलिआएको परम्परा भएकाले आफूले निरन्तरता दिएको बताए ।

‘जिजुबाजेदेखिको परम्परा हो, छोड्न मिल्दैन,’ उनले भने, ‘एकातिर स्कुलको माया लाग्छ अर्कोतिर मन्दिरमा पूजापाठ पनि गर्नैपर्‍यो ।’ देउकेटाका भूमिका निर्वाह गर्नुपर्दा पढाइ कमजोर भएको उनको भनाइ छ ।

‘विद्यालय पनि धेरै टाढा छ । बिहानदेखि ९ बजेसम्म मन्दिरको पूजाआजामा व्यस्त हुन्छु,’ उनले भने । उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छन् । विद्यालय जान नपाउँदा घरमै बसेर पढ्ने गरेको बताए । मन्दिरमा मंगलबार र बिहीबार विशेष पूजा हुन्छ, ती दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

‘त्यसैले हप्ताको दुई दिन स्कुल जान पाउदिनँ,’ जीवनले भने, ‘जति सकिन्छ घरमै बसेर पढ्छु ।’ गिरी परिवार पूजाआजाबाट आएको पैसाले नुन र

तेलको जोहो गर्दै आएका छन् । वृद्ध बाबुआमाले मन्दिरबाट उठेको भेटी बचत गरेर ९ जनाको परिवार पालनपोषण गर्दै आएका छन् ।

जीवनका बाबु खडदेव गिरीले पुख्र्यौली परम्परालाई चटक्क छाड्न नसकिने बताए । सरकारले मन्दिर क्षेत्रलाई महादेव गुठीका रूपमा मान्यता दिएको छ । गुठीबाट उठेको आम्दानीले गुजारा चलाउने गरेका छन् ।

दैलेख, सुर्खेत र अछामको संगमस्थल तल्लो डुंगेश्वर बजारमा रहेको तीर्थस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

मन्दिरमा पुजारीका रूपमा बालक जीवन, महन्त बाबु खडदेव, सन्त महेन्द्रदेव, भण्डारी र कोठारी गरी ५ पदमा कार्य विभाजन गरिएको छ । पञ्चकोशी तीर्थस्थलमध्येको यस शिव मन्दिरमा गिरी, शिरस्थान मन्दिरमा नाथ, कोटिलामा योगी र धुलेश्वरमा संन्यासीले पूजाआजा तथा गुठी क्षेत्रको संरक्षण गर्दै आएका छन् ।

इकान्तिपुर