☰ open Loading... 18 October 2024|  

पाँच किलो चरेशसहित ब्यापारी पक्राउ
  | ११ पुष २०७३, सोमबार १२:२६

जाजरकोट । पाँच किलो सात सय ग्राम लागु औषध चरेश सहित जाजरकोटमा एक जना ब्यापारी पक्राउ परेका छन् । जाजरकोट प्रहरीले बाँके नेपालगंज २ का इन्द्रमणि गौतमलाई पाँच किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ ।

भेरीमालिका नगरपालिका १ रिम्ना बजारदेखि नेपालगन्जतर्फ लैजाने क्रममा प्रहरीले नेपालगन्जको पुष्पलालचोकमा होटल व्यवसाय गर्ने गौतमलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

सिमीको दालको बोराभित्र चरेस राखेर नेपालगन्जतर्फ लैजान लागेको अवस्थामा विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक बोहराले बताए । गौतमलाई लागूऔषध कारोबार अन्तर्गतको मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

लागु औषध कारोवारीहरुबारे थप अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए । लागूऔषध चरेसको कारोबारीमा संलग्न अन्यको खोजी भइरहेको उनले बताए ।

जिल्लाको ग्रामीण भेकमा गाँजा खेती गरी चरेस उत्पादन गर्ने र गाउमै प्रतिकिलो चरेसको २० हजारसम्म कारोबार हुने गरेको छ । जाजरकोट प्रहरीले एक महिना यता मात्र करीव १५ केजी चरेश सहित चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले जाजरकोटमा ठुलो परिमाणमा चरेस र ब्राउन सुगर अफिमको कारोवार हुने सुचनाको आधारमा लागु औषध नियन्त्रण विशेष अभियान संचालन गरिरहेको प्रहरी प्रमुख भावेस रिमालले बताए । स्थानियको सहयोगले हाल सम्मका मिसनमा प्रहरी सफल रहेको उनले बताए ।