☰ open Loading... 26 July 2024|  

मध्यपश्चिम बन्दले जनजीवन प्रभावित
  | १२ पुष २०७३, मंगलवार ०९:४८

सुर्खेत । गौ हत्याको विरोधमा गरिएको मध्यपश्चिम बन्दको प्रभाव बर्दिया, दाङ, सुर्खेत र दैलेखमा पनि परेको छ । कैलालीको गोदावरी क्षेत्रमा नेपालको राष्ट्रिय जनावर एवम् हिन्दुहरुको आस्थाको प्रतिक गाईको हत्या गर्ने गिरोहलाई कारवाहीको माग गर्दै मंगलवार मध्यपश्चिम वन्दको आव्हान गरिएको हो ।

बन्दमा सवारी चलाएकाे भन्दै वीरेन्द्रनगरमा माेटरसाइकलकाे चावी नियन्त्रणमा लिँदै राप्रपा नेपालका कार्यकर्ताहरू । तस्वीर सुशील खड्का
बन्दमा सवारी चलाएकाे भन्दै वीरेन्द्रनगरमा माेटरसाइकलकाे चावी नियन्त्रणमा लिँदै राप्रपा नेपालका कार्यकर्ताहरू । तस्वीर सुशील खड्का

बन्दले बर्दियाका राजापुर बजार, गुलरिया बजार, सानोश्री बजार, भुरिगाँउ बजार, मैनापोखर बजार र सितलाबजार बन्द रहेर सुनसान रहेका छन । बासगढी बजारमा केहि पसलहरु खुले पनि सवारी साधन नचल्दा बजार सुनसान नै छ ।

देशमा धर्म निरपेक्षता घोषणा पश्चात विभिन्न वहानामा राष्ट्र, राष्ट्रियता र नेपालको मैलिक धर्मसंस्कृति मास्ने षडयन्त्र स्वरुप विभिन्न खालका नियोजित प्रहारहरु भैरहेकोले वन्द गर्नु परेको हिन्दु जागरण युवा संघ बर्दियाका अध्यक्ष वासुदेव पोखरेलले बताए ।

यता, दाङमा पनि सवारी साधान बजार, कलकारखाना पूर्ण रुपमा ठप्प छ । विहानैदेखी छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन सञ्चालन आएका छैनन् ।

सुर्खेत र दैलेखमा पनि पूर्ण रुपमा बन्द छ । छिटपुट रुपमा मोटरसाईकलहरु सञ्चालनमा आएपनि बन्दकर्ताहरुले सञ्चालनमा रोक लगाएका छन् । सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नवनेको भन्दै ध्यानाकर्षण गराउन हिन्दु जागरण युवा संघ नेपालसहित विभिन्न संघ, संगठनले मध्यपश्चिम बन्दको घोषणा गरेको हो ।

बन्दले गर्दा सबै विद्यालय तथा कलेजहरु बन्द रहेका छन भने गुलरियाबाट छुट्ने लामो तथा सानो दुरिका सवारी साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन ।

दीपक श्रेष्ठ (बर्दिया), पार्वती बस्नेत (दाङ), सुशील खड्का (सुर्खेत), कविराज विसी (दैलेख)