☰ open Loading... 26 July 2024|  

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन
  | १६ पुष २०७३, शनिबार १३:२२

रुकुम । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ ।

उहाँमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ ।

टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । मोराबाङ लेकमा रहेको स्काई (जिएसएम) फोनको टावर बिग्रिएको लामो समयदेखि निष्क्रिय भएपछि स्थानीयवासी सञ्चारविहीन भएका हुन् ।

नेपाल टेलिकमको जिएसएम टावरले काम नगर्ने भएकाले स्थानीयवासीलाई सास्ती भएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताए । पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ ।

“सबैका हातहातमा मोबाइल र घर घरमा फोन हुनुपर्ने बेलामा हामीलाई भने यस्तो सास्ती छ,” कोलका बासिन्दा वीरेन्द्र बुढाले भने “सरकारले साह्रै बेवास्ता गरेको छ ।”

नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक आउन ढिला भएकाले समस्या समाधान हुन नसकेको बताए ।