☰ open Loading... 25 December 2024|  

गोगनपानीमा एकै दिन तीन कार्यक्रम घोषणा (भिडियोसहित)
  | १८ पुष २०७३, सोमबार १८:३६

गोगनपानी (दैलेख) । दैलेख सदरमुकामदेखी दक्षिणमा रहेका गोगनपानी गाविसमा एकै दिन तीन कार्यक्रम घोषणा भएका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरेर गाविसलाई अनिवार्य आधारभूत शिक्षा, विद्यालय शान्ति क्षेत्र तथा साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

goganpani-vdc

सात विद्यालय रहेको गोगनपानीमा विद्यालयमा भर्ना रहेको विद्यार्थीको संख्या ९ सय ८२ जना छात्रछात्रा छन् । यस्तै, दलिततर्फ ३ सय ११ र जनजातीतर्फ १६० विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको प्रतिवेदनमा उल्लेख छ । गोगनपानीमा आधारभूततर्फ २९ र माध्यामिकतर्फ ६ जना शिक्षक कार्यरत छन् । यहाँ ४ वटा बालविकास केन्द्र छन् ।

goganpani-vdc2

तीन हजार ३ सय ४३ जनसंख्या रहेको गाविसको साक्षरता प्रतिशत ९८.४९ प्रतिशत छ । हासलसम्म एक हजार ८५० जना साक्षर भएको कार्यक्रममा जानकारी दिएको छ । साक्षर हुनेमा महिला ९३८ र पुरुषतर्फ ९१२ जना छन् ।

तर ६ जना पुरुष र २२ जना महिला गरी २८ जना मात्रै साक्षर हुन बाँकी रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख छ । पूर्ण साक्षर गाविस घोषणा गर्न ९५ प्रतिशत नागरिक साक्षर भएको हुनु पर्ने प्रावधान छ ।

भिडियोमा हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=nbB3PgDXiUg

यस्तै, गोगनपानी गाविसका सवै बालबालिका विद्यालयमा भर्ना भएको र विद्यालयको शिक्षण सिकाईलाई प्रभाव पार्नेगरी कुनै पनि सरकारी कार्यालय तथा गैह्रसहकारी संस्था र राजनीतिक दलहरुले कार्यक्रम नगर्ने सहमति गरेपछि विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको गाउँ शिक्षा समितिका अध्यक्ष तथा गोगनपानी गाविस सचिव होमराज विसीले जानकारी दिए ।

उनका अनुसार गाविसका नवजात शिशु र अन्य वालवालिकाहरु खोपको पहुँचमा आएकाले गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

स्वास्थ्य संस्था व्यवस्थापन समिति तथा गाउँ शिक्षा समिति गोगनपानीको संयुक्त समन्वय र सहजिकरणमा भएको कार्यक्रमको आयोजना गाविसको कार्यालय गोगनपानीले आयोजना गरेको हो ।

घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. शोभित थापा, शिक्षा कार्यालय दैलेखका विद्यालय निरिक्षक इन्द्रबहादुर उपाध्यय तथा स्थानीय राजनीतिक दलहरुले कार्यक्रम घोषणा भएपनि व्यवहारमा लागु गरेर नमूना र राम्रो गाउँ निर्माण गर्ने अभियानमा सवैलाई जुट्न सुझाव दिएका थिए ।

गोगनपानीसंगै जिल्लामा अनिवार्य आधारभूत शिक्षा तथा विद्यालय शान्ति क्षेत्र १२ र पूर्ण खोपयुक्त घोषणा हुने गाविसको संख्या ३१ पुगेको छ ।