☰ open Loading... 26 October 2024|  

गाउँ गाउँमा मतदाता नामावली सङ्कलन
  | १९ पुष २०७३, मंगलवार १४:३९

बैतडी । आसन्न निर्वाचनको तयारीस्वरुप जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाभरि फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालनका लागि गाउँगाउँ टोली परिचालन गरेको छ ।

पुस दोस्रो सातादेखि सुरु भएको सङ्कलन तथा अद्यावधिक कार्य हालसम्म जिल्लाका ११ गाविस, पाटन नगरपालिकाका दुईवटा वडा र दशरथचन्द नगरपालिकाका तीनवटा वडामा सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर उमेशराज जोशीले जानकारी दिए । उनले भने “पुस १२ गतेदेखि सुरु भएको सङ्कलन कार्यमा हालसम्म ४८० जनाको नाम दर्ता भइसकेको छ ।”

आउँदो माघ १४ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाभरि सात टोली परिचालन गरिएको छ । यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरिरहेका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले बताए ।

जिल्लाका ५६ गाविस र दुई नगरपालिकाका प्रत्येक वडामा सञ्चालनमा रहेकोे कार्यक्रम प्रत्येक दर्ता केन्द्रमा दुई दिनसम्म मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस कार्यमा आम मानिसलाई उत्प्रेरित एवम् सुसूचित गर्न सम्पूर्ण राजनीतिक दलका संयन्त्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी र मतदाता स्वयम्ले सक्रिय भूमिका खेलिदिन जिल्ला निर्वाचन कार्यालय बैतडीले आग्रह समेत गरेको छ ।

विभिन्न राष्ट्रिय निर्वाचन, जनमत सङ्ग्रह, स्थानीय निकायको निर्वाचनलगायत प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली तथा अद्यावधिक कार्य भइरहेको हो ।

निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटि सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कामको २०६७ भदौ २८ गतेदेखि नै थालनी गरेको हो ।

उमेरले १६ वर्ष पुगेपछि नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता बन्नका लागि १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

जिल्लामा २०७३ असोज मसान्तसम्ममा ६० हजार ७९६ पुरुष तथा ६४ हजार ३१९ महिला गरी एक लाख २५ हजार ११५ जनाको मतदाता नामावली नाम दर्ता भइसकेको छ ।