☰ open Loading... 26 October 2024|  

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
  | १९ पुष २०७३, मंगलवार १६:००

दैलेख । सदरमुकाम दैलेख बजारबाट लोहोरेतर्फ जाँदै गरेको भे १ त ५०५० नम्वरको ट्रयाक्टर आज विहान सिमाडा गाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका–८ सिमाडाका २३ वर्षीय डिलबहादुर रावलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

दैलेख जिल्ला अस्पतालले रिफर गरेपछि थप उपचारका लागि लैजाँदै गर्दा सुर्खेत नपुग्दै लादे भन्ने ठाउँमा मृत्यू भएको बताइएको छ । दुर्घटनामा घाइते सहचालक १७ वर्षीय जनक रावलको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक रामबहादुर रावललाई प्रहरी नियन्त्रणमा लिएको छ, उनी पनि सामान्य घाइते छन् ।

पुरानो गाडी र एक महिना अघिमात्र काम थालेका नयाँ चालक भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर चालकले भीर तर्फ खस्न लागेको गाडी भित्ता ढलाउँदा कम क्षति भएको बताएका छन् ।