☰ open Loading... 14 July 2024|  

मेरो टोपी…!
  | २० पुष २०७३, बुधबार ११:११

समाचार टिप्पणी

मेरो टोपी कैलाशको शिर जस्तो ।
मेरो टोपी हिमालको भिर जस्तो ।।
कहिल्यै पनि झुक्न नजान्ने,

कहिले पनि लुक्न नजान्ने ।
मेरो टोपी नेपाली वीर जस्तो ।।
गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको यो गीतको भावमा डुब्दा लाग्छ, मेरो टोपी सबै थोक हो, परिवार हो, देश हो, गास हो, बास हो, कपास हो । यस बाहेक अन्य मन्जुर छैन । यसैको लागि जन्मिएको र यसको विना मेरो कुनैपनि अस्थित्व छैन ।

back

मेरो राष्ट्रियता यसैले अड्याएको छ । यसको भरमा देश उच्च छ, अटल छ, सगरमाथा जस्तै अग्लो छ, कैलास जस्तै पवित्र छ । यसले कहिल्यै झुक्न दिएन, कहिल्यै निहुरिन दिएन, फगत ठाडो बनाइरहयो,स्वाभिमानी बनाइरहयो ।

इतिहाँसमा कहिल्यैपनि साम्राज्यवादीहरुको पन्जामा नपरेको देश नेपाल यसै देश भित्रको नेपाली वीर जस्तो रहयो, जसले मृत्यु सहज स्वीकार ग¥यो, पराजय स्वीकारेन ।

ती अपराजित नेपालीहरुले नयाँ वर्ष गेग्रोरियन पात्रो अनुसार सन् २०१७ को पहिलो दिन जनवरी १ लाई धुमधामका साथ टोपी दिवसका रुपमा मनाए । हुनत विगत ४ वर्ष देखी नेपाली युवाहरुले नयाँ वर्षको पहिलो दिनलाई नेपाली ढाका टोपी दिवसका रुपमा मनाउदै आएका थिए ।

नेपाली टोपीको पारखी नेपाली मात्र होइनन्, बेलायती राजकुमार प्रिन्स ह्यारी पनि हुन । गत वर्ष नेपाल भम्रणमा आएका ह्यारी नेपालका विभिन्न ग्रामीण ठाउँमा जादा नेपाली पहिरनका साथ नेपाली पाल्पाली ढाका टोपीमा सजिएका थिए ।

भारतीय प्रधानमन्त्री नेपाल आउदा पनि नेपाली ढाकाको टोपी लगाएका थिए । उनी मात्रै होइन फुटबल खेलाडी डेभिड वेकम, भारतीय क्रिकेट खेलाडी सौरभ गांगुली पनि नेपाली टोपीका फ्यान थिए ।

नेपाली टोपीको इतिहास त धेरै लामो देखिदैन तैपनि नेपालका राजाहरुले भादगाउँले टोपी लगाउने गरेको पाइन्छ । इतिहाँस मल्लकालिन राजाहरुसंग जोडिन्छ ।

मल्ल वंशको पराजय पछि पृथ्वीनारायण शाहले तत्कालिन समयमा उपत्यकामा विजय पश्चात शान्ति सुबव्यवस्था कायम राखि राख्न उनीहरुको लवाइ खवाई र संस्कृति पनि स्वीकार गरेको थिए ।

यसैगरी नेपाल एकीकरणका समयमा उपत्यका पश्चिमको सर्बशक्तिमान राज्य पाल्पा विजय पश्चात शाह वंंशीय राजाहरुले पाल्पाली ढाकाको टोपी लगाउने गरेको चलन रहिआएको छ । विजय भैसकेपछि पनि ती राज्यहरुमा शान्ति व्यवस्था कायम गर्न र तहाका जनताहरुको संस्कृति स्वीकार गरेको अर्थ लाग्ने गरी यस्ता प्रकारका कामहरु गर्दै आएका थिए ।

यसरी एकीकरण गरिसकेपछि राष्ट्रिय अखण्डता कायम राख्न शाहकालीन राजाहरुले चलाउदै आएको संस्कृति नेपाली मौलिक संस्कृतिको एक अभिन्न अंग बसिसकेको छ । ०६२÷०६३ को जन आन्दोलन अघि नेपाली व्यवस्थाका हर्ताकर्ताहरुले अनिवार्य जस्तै भएको नेपाली पोशाक, दौरा सुरुवाल र ढाका टोपीले राज्यका उच्च स्तरीय विदेश भ्रमण गर्ने गरेका थिए ।

अन्तर्राष्ट्रिय डेलिगेटससंगको भेटमा भने नेपाली पोशाक अनिवार्य नै गरिएको थियो । नेपालीको पहिचान सगरमाथा, लुम्विनी, जनकपुर जस्तै स्थान नेपाली टोपीले लिइ सकेको थियो ।

२०६४ सालको निर्वाचन पश्चात नेपाली संस्कृति, भाषा, धर्ममाथिको सुनियोजित प्रहार सुरु भयो । राजनीतिक दल र तीनका नेतृत्वकर्ता छाडा पहिरन, धार्मिक स्वतन्त्रताका नाममा सनातन हिन्दु धर्म माथिको निर्मम प्रहार र जर्वजस्त रुपमा हिन्दी भाषाको वकालत सुरु भयो ।

जुन विषयहरुमा नेपालीहरुले गर्व गर्थे ती–ती विषयहरुमा अनेक प्रकारले प्रहार गरी नेपाली मन र मस्तिष्क दुवै घाइते बनाइयो । राज्य आफ्नो देशको कला संस्कृति धर्म अनि पहिचानको संरक्षक बन्नुपर्नेमा उल्टो सामन्ती संस्कृतिको जामा पहि¥याउदै टाइ सुटमा सजिएर नेपालका प्रधानमन्त्री संसदबाट सम्वोधन गर्न थाले ।

रोक्ने कोही भएन, सबै रमिते बने ।वाँदरे प्रवृत्तिले बनेको विगार्दै लग्यो । नयाँ निर्माण हुन सकेन । मेरो आफ्नो भन्ने पोशाक र संस्कृति ध्वङ्स पारियो तर नयाँ यो हो भनेर देखाइएन ।

आज पछिल्लो पुस्ता मेरो राष्ट्रिय पोशाक खै भन्ने आवाज जोडले उठाउँदै छ । उसले आफ्नो टोपी खोजेको छ, दौरा सुरुवाल खोजेको छ, धर्म खोजेको छ, राष्ट्रियता खोजेको छ, पहिचान खोजेको छ तर दिने कल्ले ? अब फेरि नयाँ पुस्ताले गीत गाँउदै संघर्षको मोर्चामा सामिल हुनेछ र भन्ने छ मेरो टोपी कैलाशको शिर जस्तो………..!

(लेखक शर्मा सुर्खेतबाट प्रकाशीत हुने सिद्धदर्शन दैनिकका सम्पादक हुन् ।)