☰ open Loading... 26 October 2024|  

उजाडिएको त्रिपालमै पढाई
  | २२ पुष २०७३, शुक्रबार ०९:१७

सुर्खेत । हरिया दुईवटा त्रिपालमुनि सातवटा बेन्च । भुइँमा खम्बा गाडेर बनाइएका डेस्क । न ब्ल्याकबोर्ड न चक–डस्टर । शिक्षकका लागि कुर्सीसम्म छैन । विद्यालय भनेर पत्याउनै सकिँदैन । तर, लेखपराजुल ३ स्थित जनज्योति निमावि अढाइ वर्षयता यस्तै हबिगत बेहोरिरहेको छ । सातवटा बेन्चमा आठ कक्षासम्मका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ ।

२०७१ साउन २९ गतेको पहिरोले विद्यालय भवन बगाएपछि पठनपाठनमा समस्या भएको हो । भवन पुनर्निर्माणका लागि अहिलेसम्म योजना नै बनेको छैन । कक्षाकोठा अभावले विद्यार्थीको कन्तबिजोग छ ।

कक्षा ७ का सुमन राम्जाली बोर्डमा नलेखिँदा शिक्षकले पढाएको बुझ्न गाह्रो भएको दुस्खेसो पोख्छन् । ‘अन्य विषयमा खासै समस्या हुँदैन । अंग्रेजी, गणित र विज्ञानमा सिक्न गाह्रो हुन्छ,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहल गरेको भए समुदायले नै स्कुल बनाउन सक्थ्यो । हाम्रो पीडा कसैले बुझेन ।’

भवन नबनेकै कारण थुप्रै विद्यार्थी अन्यत्र गएको शिक्षक पूर्णबहादुर शाहीले बताए । ‘कक्षाकोठा नहुँदा विद्यार्थी अरू स्कुल सरिसके’ उनले भने, ‘पहिले २ सय २५ विद्यार्थी उपस्थित हुन्थे, अहिले ५० हाराहारीमा मात्रै आउँछन् ।’

उनका अनुसार कक्षा आठका एक, सातका तीन, छका चार, पाँचका छ, चारका १३, तीनका १०, दुईका ९ र एक कक्षाका १० विद्यार्थी मात्र नियमित आउँछन् । बाँकी विद्यार्थी लेखपराजुलकै काल्पानी, डुंगीखोला, भर्‍याङ र छिन्चुका स्कुलमा भर्ना भएका छन् । नजिकको विद्यालय नबनेपछि उनीहरू पढ्नकै लागि दिनहुँ एक घण्टा हिँड्न बाध्य छन् ।

जनज्योतिमा एक स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक छन् । निजी स्रोतबाट चार जना राखिएको छ । ‘विद्यार्थीलाई ओत लगाउन गतिलो पालसमेत पाइएन,’ व्यवस्थापन समिति अध्यक्ष गंगबहादुर राम्जाली मगरले भने, ‘शिक्षा कार्यालयले दिनलाई दियो तर एक बर्खा पनि टिकेन । त्यही पनि खुइलियो ।’

कक्षा एकदेखि आठसम्मका विद्यार्थी छ्यासमिस बस्नुपर्ने अवस्था छ । प्रधानाध्यापक खड्गबहादुर खड्काले विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भनेर खुला चौरमै राखेर भएपनि नियमित स्कुल सञ्चालन गर्ने गरेको बताए । उनले भने, ‘कसैलाई लेख्न, कसलाई पढ्न लगाउँछौं । सबै शिक्षक भए वरपरका डाँडामा लगेर सिकाउँछौं ।’

अरू स्कुलमा पढ्न गएका कतिपय विद्यार्थी परीक्षा दिन भने जनज्योतिमै आइपुग्छन् । त्रैमासिक, अर्धवार्षिक परीक्षामा छिन्चु गएका बाहेक सबै विद्यार्थी सामेल भएको प्रधानाध्यापक खड्काले जानकारी दिए ।

‘भवन निर्माण भएपछि विद्यार्थी फर्किने आशामा छौं,’ उनले भने । जिल्ला शिक्षा कार्यालयको सहयोगमा ३२ लाखको लागतमा चारकोठे पक्की भवन बन्दै छ । चार लाखमा शौचालय । त्यो भवन बनिसक्दा पनि सबै कक्षालाई पुग्ने गरी छुट्टाछुट्टै कोठा भने पुग्दैनन् । विद्यालयका अनुसार थप पाँच कोठा आवश्यक पर्नेछ ।