☰ open Loading... 26 July 2024|  

मध्यपश्चिम यातायातको चुनावी सभा सुरु
  | २२ पुष २०७३, शुक्रबार १३:०२

सुर्खेत । यस क्षेत्रकै सवैभन्दा पुरानो मध्यपश्चिम यातायात व्यवसायी संघको चुनावी सभा वीरेन्द्रनगरमा सुरु भएको छ । नयाँ नेतृत्वसहित चयन गर्ने २० औं साधारण सभामा अहिले बन्द सत्र जारी छ ।

mp-yatayat

उद्घाटन सत्रमा संघका सचिव र कोषाध्यक्षले प्रगती र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई दशक पार गरेको संघको उद्घाटन सत्रमा गत आर्थिक वर्षमा ४ करोड २८ लाख २७ हजार ८०६ रुपैयाँ आयव्यय भएको प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, चालु अार्थिक वर्ष २०७३।०७४ मा २ करोड ९१ लाख ८४ हजार पाँचसय रुपैयाँ आम्दानी र ४ करोड २२ लाख ४० हजार ९७५ रुपैयाँ खर्च हुने प्रस्ताव गरिएको संघका कोषाध्यक्ष गणेशकुमार पन्तले जानकारी दिए ।

संघले हालसम्म एक जना व्यवसायी र २ जना कर्मचारीलाई विमा रकम स्वरुप १५ लाख ३८ हजार रुपैयाँ उपलव्ध गराएको जनाएको छ । कोषाध्यक्ष पन्तका अनुसार संघका ६६ स्थायी र ५६ जना अस्थायी कर्मचारीहरु आवद्ध छन् । यस्तै, ५१६ बुकिङ्ग कर्मचारी र संघमा ३८८ जना यातायात व्यवसायीहरु आवद्ध रहेको पन्तको भनाई छ ।

संघलाई व्यवस्थित र यात्रुहरुको मागलाई मध्यनजर गर्दै बसको स्तरमा वृद्धि गरेको जनाएको छ । आज साँझबाट शुरु हुने संघको नयाँ नेतृत्वको लागि अध्यक्ष समेत रहेका विष्णु खड्का र सचिव श्यामलाल कंडेल अध्यक्षमा भिड्ने तयारीमा रहेको स्रोतले बतायो । नयाँ नेतृत्वकाे लागि अन्तिम सहमतिकाे प्रयास जारी रहने र सहमति हुन नसके भाेली (शनिबार) मतदान हुने बताइएकाे छ ।