☰ open Loading... 26 October 2024|  

डोटीमा ढिके नुनकै प्रयोग बढी
  | २६ पुष २०७३, मंगलवार १०:५७

डोटी । डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् ।

ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ ।

भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ, चवरा चौताराका कृषक चक्र बमले भने । पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्नमा पनि सजिलो लाग्ने उनले बताए ।

केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुगेका थिए ।

उनले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तो र कम मूल्यमा पाइने हुँदा यसकै प्रयोग बढी गर्ने गरेको बताए । आयोडिन नुन पनि खान्छाँै तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उनको बुझाइ छ ।

साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार अधिकतम मात्रामा ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ । मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउने गर्दछाैँ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्, उनले भने ।

सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

dainiknepal :rss