☰ open Loading... 22 February 2025|  

विश्वको उत्कृष्ट फुटबलरमा क्रिश्चियानो रोनाल्डो
  | २६ पुष २०७३, मंगलवार १४:५९

काठमाडौं । पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिश्चियानो रोनाल्डो चौथोपटक विश्वको उत्कृष्ट फुटबलर बनेका छन् । २००८, २०१३, २०१४ पछि रोनाल्डोले २०१६ उपाधि जितेसँगै चौथोपटक विश्वको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

messi-vs-vs-ronaldo

रोनाल्डोसँग मेसी पनि प्रतिस्पर्धामा रहे पनि उनी भोटमा ८ प्रतिशतले पछि रहे । राष्ट्रिय टिमका कत्तान, प्रशिक्षक र विश्वका छानिएका खेल पत्रकारले गरेको भोटिङमा रोनाल्डोले ३४.५४, मेसीले २६.४२ र तेस्रो स्थानका फ्रान्स एवं एथलेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले ७.५३ प्रतिशत भोट पाए ।

२००८ यताका ९ वर्षमा फुटबलको यो उत्कृष्ट व्यक्तिगतको उपाधि मेसीले ५ पटक र रोनाल्डोले चार पटक जितेका छन् । मेसीले २००९, २०१०, २०११, २०१२ सम्म लगातार चारपटक र २०१५ मा यो अवार्ड जितेका थिए ।

एक अर्काले अवार्ड जित्दा मेसी र रोनाल्डो नै दोस्रो भएका छन् । रोनाल्डोेले २०१६ मा पोर्चुगललाई युरोकप र रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

मेसी भने फाइनलमा पुगेर पनि दुई वटा कोपा अमेरिका गुमाउँदा अभागी सावित हुन पुगे । सोही कारण पनि रोनाल्डो बलिया देखिए अनुसार अवार्ड पनि जित्न पुगे ।

जितेपछि रोनाल्डोले २०१६ आफ्ना लागि स्वप्न वर्ष रहेको प्रतिक्रिया दिए । मेसी भने बार्सिलोनाको खेलका कारण स्वीटजरल्याण्डको जुरिचमा भएको यो समारोहमा उपस्थित हुन सकेनन् ।

त्यस्तै उत्कृष्ट महिला खेलाडी कार्ली लियोडले जितिन् । पुरुष प्रशिक्षक क्लाउडियो रेनेरीले जित्दा महिला प्रशिक्षकको उपाधि सिल्भिया नेडले जितिन् । फ्यान अडार्ड बोरुसिया डर्टमुन्ड र लिभरपुलका समर्थकले जिते ।

उत्कृष्ट ११ मा रियल र बार्सिलोनाको दबदबा
उत्कृष्ट ११ खेलाडीमा पनि रियल र बार्सिलोनाकै दबदबा रह्यो । म्यानुल नुएर, डानी अल्वेज, मार्सेलो, जेरार्ड पिके, सर्जियो रामोस्, एन्द्रेस इनिस्टा, टोनी क्रुज, लुका मोड्रिच, रोनाल्डो, मेसी र सुवारेज भए ।

विश्वभरका कप्तान, प्रशिक्षक र पत्रकारको मतका आधारमा भोटिङ गरेर खेलाडी छानिएको हो । यसका केही रोचक पक्ष पनि देखिएका छन् । अर्जेन्टिनाका कप्तान रहेका मेसीले रियलका कोही खेलाडीलाई पनि भोट गरेनन् ।

उनले बार्सिलोनाकै खेलाडी सुवारेज, नेयमार र इनिस्टालाई रोजे । यता पोर्चुगलका कप्तान रोनाल्डोले पनि टिमकै खेलाडी रोजे । उनले गेराथ बेल, लुका मोड्रि र रामोसलाई भोट गरे ।