१० हजार शिक्षकले बुझाएनन् विवरण
सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरु अगाडि देखिएका छन् । राट्रिय सर्तकता केन्द्रले सार्वजनिक गरेको प्रतिबेदनमा तोकिएको समयमा सम्पत्ति बिवरण नबुझाउनेमा शिक्षकहरु अग्रपंक्तिमा आएका हुन् ।
देशभर कूल ८२ हजार ७ सय २२ जना शिक्षक रहेकोमा १० हजार २ सय १५ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् । केन्द्रले हालै सार्वजनिक गरेको विवरणमा ७२ हजार ५ सय ७ शिक्षकले विवरण बुझाएका छन् ।
सार्वजनिक पद धारण गरेर विवरण नबुझाउने प्रतिशतमा सबैभन्दा बढी शिक्षकको प्रतिशत १२ दशमलव ३४ प्रतिशत छ ।
हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान अनुसार निर्धारित समयभित्र सम्पति विवरण बुझाउनुपर्ने प्रावधान छ ।
आर्थिक वर्ष शुरु भएको २ महिनाभित्र पनि सम्पत्ति विवरण बुझाउन नसकेमा ३० दिनको समय मागेर पनि बुझाउन पाउने व्यवस्था भएपनि सो अवधीमा पनि शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन् ।
यस्तै राष्ट्रिय सर्तकता केन्द्रका अनुसार ८२ हजार ५ सय ३० निजामती कर्मचारी मध्ये ७८ हजार २८ ले समयभित्र सम्पति विवरण बुझाए भने ४ हजार ४ सय १६ कर्मचारीले भने सम्पति विवरण बुझाएनन् । यस्तै ८६ कर्मचारीले म्याद भन्दा पछाडि सम्पत्ति विवरण बुझाएका छन् ।
यता ९२ हजार ८६ सैनिक मध्ये २ हजार ६ सय १३ सैनिकले सम्पति विवरण बुझाएनन् । प्रहरी तर्फ कूल ९६ हजार ५ सय २५ प्रहरी मध्ये ४ सय ९२ प्रहरीले सम्पति विवरण नबुझाएको राष्ट्रिय सर्तकता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
यस्तै अन्य सार्वजनिक पद धारण गरेका ८० हजार ८ सय ५३ ब्यक्तिमध्ये १४ सय ७७ जनाले सम्पत्ति विवरण बुझाएनन् ।
सार्वजनिक पद धारण गरेका ४ लाख ३४ हजार ७ सय १६ मध्ये १९ हजार २ सय १३ व्यक्तिले सम्पत्ति विवरण नबुझाएका हुन् । यस्तै २ हजार ७ सय २ जनाले म्याद पछि सम्पति विवरण बुझाएका हुन् ।
सम्पत्ति विवरण नबुझाउनेमा शिक्षा मन्त्रालय अगाडि
मन्त्रालयगत आधारमा पनि तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षा मन्त्रालय अगाडि रहेको छ । शिक्षा मन्त्रालय अन्र्तगत रहेका १५ हजार ६ सय ५ कर्मचारी मध्ये ३ सय ४५ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् भने १२ सय १४ कर्मचारीले म्याद पछि सम्पत्ति विवरण बुझाएका छन् ।
यस्तै सिंचाई मन्त्रालय अन्र्तगत रहेका १ हजार ८६ कर्मचारीमध्ये १ सय ८२ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । म्याद सकिएपछि ३१ कर्मचारीले विवरण बुझाएका छन् ।
यस्तै गृहमन्त्रालयका २ सय ६६ कर्मचारीमध्ये २ सय ४६ कर्मचारीले म्याद सकिएपछि सम्पत्ति विवरण बुझाए भने २० जना कर्मचारीले मात्र समयमा विवरण बुझाएका छन् ।
यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतका १८ हजार ८ सय ७६ कर्मचारी मध्ये ६ सय ९० ले सम्पत्ति विवरण बुझाएनन् भे ९७ जनाले म्याद सकिएपछि बुझाए ।
यस्तै उर्जा मन्त्रालय अन्र्तगतका ७ हजार ९ सय ८५ कर्मचारी मध्ये १ सय २४ कर्मचारीले विवरण बुझाएका छैनन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका ३ हजार ३२ कर्मचारी मध्ये ४७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
यस्तै कृषि मन्त्रालयका १८ सय ७७ कर्मचारीमध्ये २९ जनाले र सूचना तथा सञ्चार मन्त्रालयका ५ हजार ९ सय ३५ कर्मचारी मध्ये ३० जनाले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ ।
अघिल्लो बर्षको तुलनामा १ दशमलव ९२ प्रतिशत बढी पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
केन्द्रले समयमा सम्पत्ति विवरण नबुझाउनेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
आर्थिक वर्ष शूरु भएको ३ महिनासम्म पनि सम्पति विवरण नबुझाँउने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार जरिवाना र निजको परिवारको नाममा रहेको गैह्रकानुनी सम्पति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ ।
साभार ः रातोपाटी डटकम