सुर्खेत । वीरेन्द्रनगर नगरपालिकापछिको दोस्रो ठूलो शहर भेरी गंगा उपत्यका अव नयाँ र व्यवस्थित आधुनिक शहर बन्ने भएको छ । २० वर्ष भित्र भेरीगंगा उपत्यकालाई आधुनिक शहर निर्माण गर्ने उद्घोष गरेका पूर्वगृहमन्त्री एवं सुर्खेत क्षेत्र नम्बर १ का सांसद् पूर्णबहादुर खड्काको अथक प्रयासपछि नीतिगत रुपमा सरकारले निर्णय गरेपछि नयाँ शहर निर्माण हुने पक्का भएको हो ।
नयाँ शहरका रुपमा डेढ वर्षअघि नै पूर्वसंभाव्यता अध्ययन गरिएको थियो । तर आरआइविएस इन्जिनियरिङ्ग कन्सल्र्ट प्रालि र नेपाल विकास परामर्श जेभी अनामनगर काठमाडौंले सुर्खेतमा नयाँ शहर निर्माणको सम्भाव्यता अध्ययन गरेर रणनैतिक योजना तर्जुमा गर्न प्रतिवेदन पेश गरेको थियो ।
सोही प्रतिवेदनको आधारमा नेपाल सरकारको सचिव स्तरको गत पुस १४ गतेको निर्णयअनुसार काम अघि बढाउने निर्णय गरेको हो । या निर्णयपछि नयाँ शहर निर्माणको बाटो खुलेको हो । नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक चक्रवर्ती कठले हस्ताक्षर पत्रमा भनिएको छ, ‘नयाँ शहरका रुपमा विकास गर्ने भनि स्वीकृत भएकोले सम्झौता अनुसारको कार्य अगाडी बढाउन जानकारी गराइन्छ ।’
यसअघि प्रस्ताव गरिएको क्षेत्रफल र गाविसको संख्यामा भने हेरफेर भएको छ । कार्यालयले नै स्वीकृत गरेका क्षेत्रफलमा भेरीगंगा र शुभाघाट नगरपालिका, धारापानी, मालारानी, सहारे, लेखफर्सा, दशरथपुर र कल्याण गाविस छन् ।
अव यिनै क्षेत्रमा नयाँ शहर स्थापित हुनेछ । परामर्शदाताले अव रणनैतिक योजना निर्माण गर्न विस्तृत अध्ययन शुरु गर्नेछ । नयाँ शहरमा आर्थिक अवस्था, जीविकोपार्जनका अवसर, सामाजिक वस्तुस्थिति, सांस्कृतिक पक्ष, भौतिक पूर्वाधार र प्राकृतिक वातावरणीय पक्ष तथा अवस्थितिको उपयुक्तताको बारेमा रणनैतिक योजनामा समेट्ने पूर्वगृहमन्त्रीसमेत रहेका सांसद् पूर्णबहादर खड्काले पश्चिम नेपाललाई जानकारी दिए ।
उनका अनुसार सहर स्थापना, औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, सडक निर्माणलगायत कहाँ बनाउँदा उपयुक्त हुन्छ भन्ने विस्तृत प्रतिवेदन परामर्शदाताले निर्माण गर्नेछ । परामर्शकर्ताले यही विषयमा थप सुझाव संकलन गर्न मंगलबार र बुधबार शुभाघाट र भेरीगंगामा अन्तरक्रिया गर्दैछ ।
नयाँ बन्ने शहरले अछाम, कार्णाली राजमार्ग, डोटी, बाँके, दैलेख, दाङ, जाजरकोट, सल्यान, रुकुम, डोल्पा जोड्ने मुख्य राजमार्गलाई समेत छुनेछ ।
नेता खड्काले २०७० को संविधानसभा निर्वाचनको बेला भेरी नदी किनारमा आधुनिक सहर निर्माण गर्ने अवधारणा सार्वजनिक गरेका थिए । अबको २० वर्षभित्र नयाँ शहर निर्माणले मूर्त रुप पाउने खड्काले विश्वास व्यक्त गरे ।
यस्तो निर्णयपछि भेरीगंगा नगरपालिकाका सुचना अधिकारी कुलबहादुर खड्काले उक्त क्षेत्रका सांसद खड्काको अवधारणाअनुसार नयाँ शहर निर्माण योजना कार्यान्वयन भएमा यस क्षेत्रको चौतर्फी विकास हुन बताए । ‘भेरीगंगा उपत्यका संभावनै संभावना भएको क्षेत्र हो, यो वृहत योजनाले ती संभावनालाई उजागर गर्नेछ,’ उनले भने ।