☰ open Loading... 4 November 2024|  

चौकुने सिमेन्ट उद्योग : सम्झौताको ७ वर्षपछि चुनढुंगा उत्खनन
  | ३ माघ २०७३, सोमबार १३:४५

सुर्खेत । सम्झौताको सात वर्षपछि सुर्खेतको गुटुस्थित चौकुने सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन सुरु गरेको छ । खानी क्षेत्रमा सडक पुगेपछि मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले सिमेन्ट उत्पादनका लागि चुनढुंगा निकाल्न थालेको हो ।

चौकुने क्षेत्रमा रहेका चुनढुंगा उत्खनन गरी सिमेन्ट उत्पादन गर्न खानी विभाग र कम्पनीबीच सात वर्षअघि सम्झौता भएको थियो । लाइसेन्स पाएको सात वर्षपछि कम्पनी बल्ल निर्माणपूर्वको तयारीमा जुटेको हो । यसअघि कम्पनीले सशस्त्र द्वन्द्व, सडक र बिजुलीको समस्या देखाउँँदै निर्माणमा बेवास्ता गर्दै आएको थियो ।

chaukune
सम्भाव्यता अध्ययन थालिएको ३८ वर्षपछि खानी क्षेत्रमा सडकको पहुँच पुगेपछि उद्योगले गति लिएको छ । ‘लाइसेन्स होल्ड’ मै राख्नलाई काम अघि नबढाएको आरोप लाग्न थालेपछि कम्पनीले आफ्नै लगानीमा खानी क्षेत्रसम्म सडकको विस्तार गरेको छ ।

कम्पनीका प्रोजेक्ट को–अर्डिनेटर लोकबहादुर अधिकारीले मुआब्जा वितरण र चुनढुंगा संकलन कार्य एकैसाथ सुरु हुने बताए । ‘सडकको पहुँच पुगेपछि चुनढुंगा संकलन गरेर गुटुबजारमा भण्डारण सुरु भइसक्यो,’ उनले भने, ‘एक महिनाभित्र जग्गाधनीसँग बसेर मुआब्जाको टुंगो लगाउँछौं ।’ उनले कारखाना स्थापनाका लागि गुटुमा जग्गा छनोट पनि भइसकेको जनाए ।

खानी क्षेत्र गुटु गाविसको चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कुल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमध्ये कम्पनीले १३ सय ८० रोपनी जग्गाको मुआब्जा दिने तयारी गरेको छ ।

सडक र बिजुली सरकारले उपलब्ध गराउने सम्झौता भए पनि सरकारी बेवास्ताका कारण कम्पनी आफैंले खानीसम्म पुग्न सडक निर्माण गरेको छ । उसले गुटु ४ भाप्रदेखि कुवासम्म ३२ किमि सडक निर्माण गरिसकेको हो ।

खानी विभागले ०३५ देखि ०३९ सालसम्म चौकुने र बड्डीचौरको लखरपाटामा चुनढुंगा परीक्षणका लागि तीन सय फिट गहिरो ड्रिलिङ गरेको थियो । हाल कामले गति लिन थालेपछि स्थानीयबासी हर्षित छन् । करिब ८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

गुटु ३ की धर्मा चलाउनेले पूर्वाधारको तयारीले आयोजना अघि बढ्ने आशा पलाएको बताइन् । ‘हामी सानै हुँदा उद्योग सञ्चालन हुन्छ भन्ने सुनिन्थ्यो,’ उनले भनिन्, ‘बल्ल आयोजना सुरु हुने छाँट देखियो ।’ चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले जग्गाधनीलाई उचित मुआब्जा, प्रभावित परिवारलाई रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सुनाए ।

र्इकान्तिपुर