☰ open Loading... 3 May 2024|  

स्वास्थ्य चौकीलाई जग्गादान
  | ३ माघ २०७३, सोमबार १४:१६

बैतडी । बैतडीको तल्लोस्वराडका एक स्थानीय बासिन्दाले उदयदेव स्वास्थ्य चौकीलाई निःशुल्क रुपमा करिब रु पाँच लाख बराबरको जग्गादान गरेका छन् ।

जग्गादान गर्नेमा उदयदेव–९ मकैलका ७८ वर्षीय सन्तोक सिंह ठकुराठी रहेको उदयदेव स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिए । ठकुराठीले करिब रु पाँच लाख बराबरको साढे चार रोपनी जग्गादान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ ।

यसअघि स्वास्थ्य चौकीमा सुविधासम्पन्न भवन बनाउन जग्गा अभाव रहेकाले अब उक्त जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने स्वास्थ्य चौकी इन्चार्ज महताले बताए । आर्थिक वर्ष २०७२-७३ मा बैतडी जिल्लामै उत्कृष्ट हुँदै प्रथम स्थानमा उदयदेव स्वास्थ्य चौकी रहेको थियो ।

यसअघि बैतडीको डिलासैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहरा सगोल रुपमा (दुई रोपनी) गरी पाँच रोपनी निःशुल्क रुपमा हाट स्वास्थ्य चौकीलाई जग्गादान गरेका थिए ।