☰ open Loading... 3 May 2024|  

मुक्त हलियाको जङ्गलमा बास
  | ६ माघ २०७३, बिहीबार १६:५५

स्थानीय अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास भएका छन् । साहुबाट मुक्त भए पनि पुनःस्थापना नगर्दा नहुँदा भेटा गाउँका मुक्त हलिया पाँच वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन् ।

पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन् । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताए ।

चिसोसँगै ओड्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या उनीहरुको गुनसो छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् ।

साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको मुक्त हलिया लालबहादुर सार्कीले बताउनुभयो । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ ।