☰ open Loading... 26 July 2024|  

अन्तर्राष्ट्रिय आतंकवादको ‘रिस्क जोन’ मा नेपाल
  | ७ माघ २०७३, शुक्रबार १५:२०

भारत आसाममा सक्रिय पृथकतावादी समूहका नाइके निरन्जन होजाइलाई नेपाल प्रहरीले पक्राउ गरेर ३ वर्ष अघि भारतलाई बुझायो। उनी निर्मल राईको नागरिकता लिएर नेपालमा बसेका थिए । भारतले नेपाल भारत सीमामा उनलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

karim
सन १९९३ मा भारतमा बम विस्फोटपछि मोस्ट वान्टेड सुचीमा रहेका अब्दुल करिम टुन्डालाइए पनि २ वर्ष अघि नेपाल प्रहरीले नै विमानस्थलबाट पक्राउ गरेर खुसुक्क भारतलाई बुझायो ।

उनी पक्राउ परेपछि भारतीय अलकायदाका उच्च तहका नेता यासिन भड्कल पनि नेपालमा नै पक्राउ परे। उनलाई पनि नेपाल प्रहरीले खुसुक्क भारत नै सुम्पियो ।

आतंकवादीहरुले नेपालमा सेल्टर लिइरहेको यो घटना भने पहिलो होइन, यस अघि २०६७ साल भदौंमा होलीमा बम विस्फोट गराएको अभियोगमा हिज्बुल मुजाहिद्धिनका सदस्य सैयल शाहलाई पनि विमानस्थलबाट पक्राउ गरेर भड्कल र टुण्डाजस्तै उनलाई पनि भारतीय अधिकारीहरुलाई सुम्पिएको थियो ।

विगतका घटना हेर्दा नेपाल आतंकवादीहरुको रिक्स जोनमा रहेको छ । नेपाल प्रहरीले पनि यसलाई स्वीकार गरेको छ। काठमाडौं भएको इन्टरपोलको क्षेत्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरीका डिआइजी बमबहादुर भण्डारीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको रिक्स जोनमा रहेको बताएका छन् ।

विशेष ब्युरोका प्रमुखसमेत रहेका डिआइजी भण्डारीले नेपालमा आतंकवादी गतिविधि छैन भनेर ढुक्क भएर बस्नुपर्ने अवस्था नरहेको भन्दै आगामी दिनमा इन्टरपोल सदस्य राष्ट्रहरु मिलेर काम गर्नुपर्ने बताएका छन् ।

‘काठमाडौंलाई आतंककवादीहरुको सेल्टरका रुपमा प्रयोग गर्न सक्छन, त्यसैले आतंकवाद विरुद्ध लड्न सबैको एकमत आवश्यक छ डिआइजी भण्डारीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेको सहभागी एक उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने ।

एआइजी बिज्ञानराज शर्माले सम्मेलन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा आतंकवादीहरुको रिक्स जोनमा नेपाल रहेको स्वीकार गरेका छन् । ‘नेपालका एकातर्फ चीन र अर्कातर्फ भारत छ’, एआइजी शर्माले भने ‘नेपाल धेरै रिक्स जोनमा छ ।’

शर्माका अनुसार कार्यक्रममा सहभागी अन्य देशका प्रतिनिधिहरुले नेपालमा आतंकवादीहरुको नेपाल ट्रान्जिट प्वाइन्ट बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । नेपालमा आतंकवाद बढ्न सक्नेमा उहाँको चिन्ता र चासो छ, एआइजी शर्माले भने ।

एआइनी शर्माले नेपालमा अलकायदा, आइएसआइएस र मुजाहिद्धिन समूहको गतिविधि हुन सक्ने भन्दै नेपाल प्रहरी चुप लागेर नबसेको बताए । ‘नेपालमा आतंकवादी गतिविधि बढ्न सक्छ, त्यसैले इन्टरपोलको बैठकमा हामीले आतंकवादी गतिविधिमा लागेकाहरुले सम्पूर्ण विवरण आदान प्रदान अझ सम्बन्ध अझै मजबुद बनाउने कुरा भएको छ,’ शर्माले भने ।
३ दिनअघि काठमाडौंमा सुरु भएको इन्टरपोलको बैंठक ५ वटा प्रस्ताव पारित गर्दै सकिएको छ ।

इन्टरपोलको एसियन राष्ट्रहरुको रणनीति तय गर्दै सम्मेलन सकिएको हो । इन्टरपोलको अप्रेसनलाई अझ सक्रिय बनाउने, स्मगलिङ, चाइल्ड सेक्स लगायतका कुराहरुमा सहकार्य गर्ने, ब्लु नोटिसमा रहेकाहरुलाई धेरै निगरानीमा राख्ने, आतंकवाद विरुद्ध मिलेर लड्ने प्रस्ताव सम्मेलनले पारित गरेको एआइजी शर्माले बताए । त्यस्तै साइबर क्राइम र महादेशिय वातावरणिय अपराध नियन्त्रण गर्ने प्रस्ताव पनि सम्मेलनले पारित गरेको शर्माले बताए ।

सेताेपाटीबाट