छक्का पन्जाको टिप्पणी सुनेकै कारणले हेर्न गइनँ सुरुमा । तिहारमा बैनीहरुको जोडबलले हुल बाँधेर हलमा गयौं । टिकट नपाएर फर्कियौं । श्रीमान् श्रीमती फिल्म हेर्न गएका एउटा मात्र टिकट बाँकी बँचेको नारायणगणको जलमा हलमा । बुढालाई घर फर्काएर बुढीमात्र हलमा गइन् ।
भाइ बहिनी र भतिजा भतिजीसहितको जम्बो टिम लिएर पुगेका हामी खिस्रिक्क पर्यौं । बरु उनै श्रीमती मात्र फिल्म हेर्न गएको दृश्य र उनले आफ्ना श्रीमानलाई दिएको डायलगको मनोरन्जन लिँदै घर फर्कियौं । बेलुकी सोमा बा—आमा जाने भए। पछि लागेर जाउँ कि सोचेर पनि अल्छी गरेँ । हाम्रो तिहारको रौनकमा भिलेन खेलेर छक्का पन्जाकोे निकै दिनसम्म तातो बहस घरमै चल्यो ।
महिलाको आत्मसम्मानमा भिलेन खेलेको भनिएको छक्का पन्जा हेर्ने मोह त्यागेकी थिएँ । पाइरेसीले फेरि बहस चर्कायो पुषको ठन्डी तातो पारेर । फोकटमा हेरिहाल्न मन लागेन । मन थाम्न पनि सकिनँ । साथी शीतल दहालको सल्लाह थियो ‘पोलिटिकली करेक्ट’ हुने धुनमा नलाग । बीस बर्ष सिनेमा जगतमा संघर्ष गरेको दिपाश्रीको काम हेर्न भए पनि हेर । खोटरहित सबै कुरा कँहा हुन्छ ?’
महिलाले समाजको कानुन विपरित निर्धक्क प्रेम गरेको र निसंकोच त्यसको परिणाम स्विकारको आत्मनिर्भरताको उदाहरण कमै पाइन्छ नेपाली सिनेमामा । छक्कापन्जाले नबोलिकन बोलिदिएको छ प्रेमको कुनै नियम हुँदैन । कस्को बच्चा पाउन, कोसँग प्रेम गर्ने त्यो महिलाको आफ्नै हृदयको कानुनले मात्र भन्ने कुरा हो । बिन्दाले भनेकी छ ‘महिलाले शरीर र मन दुबै दिन्छन् । पुरुषले शरीर मात्र ।’ यसरी महिलाले गर्ने प्रेमलाई फिल्ममा उच्च देखाइएको छ ।
उसको सल्लाह सम्झेर हेर्न थालेँ, र तीन पटक हेरेँ । देशमा रोजगार नभएर आफ्नो परिवार र गाँउको माया चटक्क मारेर जानेहरुको कथा । एकजना युवक घर फर्कंदा उसकी श्रीमती अर्कैसँग गएको एउटा कहानीलाई लिएर बनाइएको कथा ।
समाजमा भएका एक्का दुक्का घटनालाई सामान्यीकरण गर्न खोज्नु वा खोजेको देखिनु छक्का पन्जाको खड्केको पक्ष हो। सुरुमै यसो भन्न मलाई कुनै संकोच छैन । छक्का पन्जा यत्ति हो त ? सित्तैमा सिनेमा हेरेपछि सामाजिक सञ्जालमा ओइरिएका समीक्षाले छक्का पन्जाको घनत्व बोक्न सक्छरु सक्दैन ।
सिनेमाको खलपात्र राजा (दिपकराज गीरी) हुन् । उनी नै हुन्, आफ्ना साथी जम्मा पारेर महिला र बिबाहबारे साथीहरुलाई भड्काँउदै अन्ट सन्ट भन्ने । विदेशीएका साथीका श्रीमती ताक्दै हिड्ने । अर्की प्रमुख पात्र बिन्दा (बर्षा रावत) ले राजालाई मनपराएकी हुन्छे सुरुबाटै ।
तर उस्को बिहा अमेरिका जान आँटेको राजाको अधबैंसे साथीसँग हुन्छ । यो बिहामा बिन्दा खुसी हुन्न । बिहापछि पनि भगवानप्रति उस्को प्रेम यथावत रहन्छ । श्रीमान् अमेरिका गएकै कारण ऊ भगवानसँग नजिकिएकी हुँदिन । श्रीमान् फर्कन्छन् । भगवानले अर्को केटीसँग बिहा गर्छ ।
बिन्दा आफ्नो सुखदुःखको जीम्मेवारी आफ्नै काँधमा लिन्छे । प्रेम गरेको मान्छेको सम्बन्धले पेटमा आएको बच्चा फाल्दिन । समाजले दिने अप्ठेरो र लान्छनाको उ परवाह गर्दिन । अमेरिकाको लोभ गरेर लोग्नेसँग जान्न। बच्चाको बाउ खोज्न हारगुहार पनि गर्दिन ।
महिलाले समाजको कानुन विपरित निर्धक्क प्रेम गरेको र निसंकोच त्यसको परिणाम स्विकारको आत्मनिर्भरताको उदाहरण कमै पाइन्छ नेपाली सिनेमामा । छक्कापन्जाले नबोलिकन बोलिदिएको छ प्रेमको कुनै नियम हुँदैन । कस्को बच्चा पाउन, कोसँग प्रेम गर्ने त्यो महिलाको आफ्नै हृदयको कानुनले मात्र भन्ने कुरा हो । बिन्दाले भनेकी छ ‘महिलाले शरीर र मन दुबै दिन्छन् । पुरुषले शरीर मात्र ।’ यसरी महिलाले गर्ने प्रेमलाई फिल्ममा उच्च देखाइएको छ ।
अर्कोतिर चम्पा । गाँउका भुसतिघ्रेहरुको अन्यायलाई सिधै चुनौती दिन्छे । गाँउले दाईमाथि आक्रमण हुँदा बचाउन आइपुग्छे । दुर्जनसँग बिहा गर्छे । लोग्ने र उस्को जड्याहाँ श्रीमती कुटुवा छिमेकीलाई ठेगान लाँउछे । महिलालाई तथानाम भन्ने, साथीलाई स्वास्नी कुट्न सिकाउने, सम्बन्धमा जालझेल गर्ने सबै काम प्रमुख पात्र भगवानले नै गर्छ ।
गरिब एक्ली आमाले सन्तानलाई हुर्काएको माया गरेको कुरा पनि त छ फिल्ममा । माग्ने र उसकी आमाबीचको प्रेम आहा ! आफ्नो गाँउ छोडेर बिदेसिन लागेको माग्नेको साथीभाईसँगको प्रेम । आमाको खुशीका लागि किड्नी बेचेका छोराहरुको लस्कर । मन छुने छन् ।
भगवानको खलनायकी बुझेपछि स्वास्नी कुटेर भगाउने पात्रले पनि ससुराली धाएर हत्ते गरेर स्वास्नी फर्काउँछ । साथीले स्वास्नी फर्कायो, भगवानले बिहा गर्यो र प्रेम बुझ्यो अनि साथीको बुढीलाई नमस्ते गर्दै भन्यो ‘भाउजु तलमाथि गरे पट्काइदेऊ गालामा’ । दुष्ट राजाले पनि अब आमा र श्रीमतीको प्रेम आत्मसात गर्यो ।
जब भगवान श्रीमती चम्पाको प्रेममा पर्न थाल्यो अनि उस्ले धोका पायो । यो धोका बिदेशिएको श्रीमानको आँखा छलेर चम्पाले दिएकी होइन । साथीलाई धोका दिने र आफूलाई प्रेम गरेकी केटीलाई धोका दिने भगवानलाई सबक सिकाउन गरिएको नाटक हो। चम्पाले जोसँग बिहा गर्छु भनेकी हुन्छे उसैसँग गर्छे। धोकेवाज भगवानले जवाफ भेट्छ ।
समग्रमा छक्का पन्जामा छल गर्ने पात्रले सजाय पाएको छ । नकारात्मकताले अन्तमा सबक सिकेको छ। बिन्दाको प्रेमले पनि जितेको छ । चम्पाले वचन निभाएकी छ । महिलाहरु साँचो प्रेम गर्छन् भन्ने सन्देश दिइएको छ । रह्यो कुरा महिलाको अपमानको । छक्का पन्जाले देखाउन खोजेको बैदेसिक रोजगारको अर्को पाटो समाजमा नभएको होइन । आंशिक सत्यलाई सत्य नै यही हो भन्ने टोनमा सिनेमा आउनु कमजोर पक्ष हो ।
साँचो मित्रता र प्रेमले जितेका छन् । छल गर्ने पात्रको बिल्लिबाँठ भएको छ । समाजमा महिलाले छल नगर्ने भन्ने होइन, गरेका छन् । समाजमा खराब महिला पनि छन् । छक्का पन्जाको खलनायक भगवानजस्ता पनि छन् । भगवानजस्तै खलपात्रले महिलाबारे नकरात्मता व्यक्त गरेका छन् ।
विदेसिएका श्रीमानको घर सम्हालेर दुख गरेर बसेका श्रीमतीको बलियो दृष्य नहुनु छक्का पन्जाको दुर्बल पक्ष हो । प्रमुख पात्रमा उभिएका महिला पात्रहरुको शक्तिशाली भूमिका सिनेमामा देखाइनु यसको सबल पक्ष हो । कलाको सेतो वा कालो रङ मात्र हूँदैन । छक्का पन्जालाई समग्रतामा हेर्दामात्र न्यायपूर्ण होला ।
नेपाल खवर