ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि विवादका विच सम्पन्न भएको छ । विगतका ईलाका परिषदबाट पारित भएका आयोजनाको सम्बोधन नभएको, समाजमापछि पारिएका वर्गहरु नसमेटिएको विषयमा विवाद भएकाकाे थियो । गोष्ठिमा मान्यताक्रममा तलमाथि भएको विषयमा विवाद भएपनि इलाका स्तरीय योजना तर्जुमा गोष्ठि भने सम्पन्न भएको बताईएको छ ।
यस्तै लक्षित वर्ग उपेक्षित भएको तथा टुक्रे योजनालाई प्राथमिता दिएको र दलिय भागबन्डाको आधारमा योजना छनोट गरेको विषयमा विवाद भएको लाम्रा गाविसका हरिवहादुर डाँगीले जानकारी दिए । यता जिल्ला विकास समिति जुम्लाका नायब सुब्बा हरिशचन्द्र गिरीका अनुसार केहि व्यक्तिलाई इलाका परिषदका क्रममा विवाद गर्न खोजेका थिए । इलाका परिषदमा आएका योजनालाई हुबहु जिल्लामा ल्याईएको उनको भनाइ छ । इलाका परिषद भएको बेला सार्वजनिक कार्यक्रममा केहि व्यक्तिले विवाद गर्न खाजेको गिरीले बताए ।
ईलाका नम्बर ४ अन्तर्गत पर्ने चार गाविसका अगुवाहरुले स्थानिय विकास अधिकारीको प्रत्यक्ष सहभागितामा गोष्ठि हुनु पर्नेमा इलाका नम्बर ४ का स्थानीयले माग गरेका थिए । विगतका ईलाका परिषदहरुबाट स्वीकृत योजनाहरु जिल्लाको प्राथमिकतामा नपरेको भन्दै सम्बन्धित निकायका आधिकारिक व्यक्तिको अनुपस्थितिमा गोष्ठि संचालन हुने गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लाका डिलेशवहादुर रावतले बताए । नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी प्रसाद उपाध्यायले गाविसमा योजना छनोटमा सहभागि हुने रानीतिक दलहरु जिल्ला स्तरमा पनि एक भएर जानु पर्ने माग राखे ।
गैरसरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष समेत रहेका हाँकु गाविसका स्थानिय अगुवा दुर्गा प्रसाद पाण्डेले ईलाका परिषद हात्तीको देखाउने दात मात्रै भएको टिप्पणी गर्दै सबैमा पुरानो मानसिकताले अहिले पनि जरो गाडेको बताए ।
तातोपानी गाविसका स्थानिय रामकृष्ण न्यौपानेले समाजमा पछि पारिएका अपांगता भएक व्यक्ति, महिला, दलित र बालबालिकाहरु किनाराका साची मात्रै भएको गुनासो गरे । विगत पाँच वर्ष देखी परिषदमा सहभागिता जनाउदै आएका एैनादेवी चौलागाईले महिलाहरुका नाममा आउने रकम र महिलाको सहभागिता कम हुने गरेको बताइन ।
योजना तर्जुमा पक्रियामा सबैको अर्थपुर्ण सहभागिताको नारा व्यापक रुपमा उठिरहेको बेला बोलवालाहरुको हाली मुहाली भएको गुनासो आएको छ । स्थानिय स्तरमा विकास पनि हुन नसकेको बेला गाविस तथा जिल्लास्तरका राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरुले योजनाहरु कागजमा मात्रै सिमित रहेको बताएका छन् ।
अन्य राजनितिक दलहरुले पनि विकासको लागि दलको विचार धारा भन्दा बाहिर रहेर लाग्नु पर्ने बताएका छन् । इलाका परिषदमा ४ वटै गाविसका राजनितिक दलका प्रतिनिधि, महिला र राजनितिक दलहरु गरि करिब १ जना जतीको मात्रै सहभागिता रहेको थियो ।