☰ open Loading... 5 February 2025|  

डिभिजन प्रमुखसहित ५ जना विरूद्भ विशेष अदालतमा मुद्दा दायर
  | ११ माघ २०७३, मंगलवार २०:१०

सुर्खेत । भवन डिभिजलन कार्यालय सुर्खेतका कार्यालय प्रमुखसहित पाँच जना विरूद्भ बिशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरिएकाे छ । जिल्लाकाे पश्चिमी क्षेत्रमा रहेकाे गुटु गाविसकाे स्वास्थ्य चाैकीकाे भवन निर्माणमा मापदण्ड विपरित काम गरेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान कार्यालय काठमाडाैंले अदालतमा मंगलबार मुद्दा दायर गरेकाे हाे ।

cia

अख्तियारले डिभिजन कार्यालय, सुर्खेतका डिभिजन प्रमुख विष्णुप्रसाद शर्मा, ईन्जिनियर शशिचन्द्र घिमिरे, सव-ईन्जिनियर मनोज कुमार यादव, लेखा अधिकृत तुलाराम तिवारी र निर्माण व्यवसायी राजविन्द्र प्रताप सापकोटा विरूद्भ मुद्दा दायर गरेकाे जनाएकाे छ ।

डिभिजन कार्यालय, सुर्खेतबाट संचालित गुटु स्वास्थ्य चौकी, सुर्खेतको भवन निर्माण कार्यकाे जिम्मा पाएका कन्ट्रयाक्टर मैनाचुली सुरुची जे.भी, सब कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन, सुर्खेतसंग सम्झौता अनुसार काम नगरेकाले मुद्दा दायर गरिएकाे अख्तियारकाे सूचना डेस्कले उल्लेख गरेकाे छ ।

 ठेकेदारले सम्झौता तथा मापदण्ड अनुसार जमीन मुनि बिम हाल्नुपर्नेमा नहाली पिलरहरु समेत बाङ्गो बनाई मापदण्ड विपरित कार्य गरेको भन्दै पाँच जना विरूद्भ उजुरी परेकाे थियाे । अनुसन्धानकाे क्रममा  पाँचै जनाकाे आपसी मिलेमतोमा गुटु स्वास्थ्य चौकी भवन निर्माणको क्रममा आफूखुसी काम गरेकाे, निर्धारित शर्त र मापदण्ड विपरित भवन निर्माण गरेर झुठ्ठा बिल भरपाई बनाई पेश गरिएकाे खुलेकाे थियाे ।

उनीहरूले गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने बदनियतले काम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर तथा उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायी राजविन्द्र प्रताप सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको पुष्टी हुन आएकाले  ५ जना ब्यक्तिहरु उपर कसूरको मात्रा अनुसार कैद सजाय र बिगो बमोजिम जरिवाना माग गरेकाे उल्लेख छ ।