☰ open Loading... 26 October 2024|  

वैशाखमै स्थानीय निर्वाचन हुन्छः सभापती देउवा
  | ११ माघ २०७३, मंगलवार १९:०६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखभित्र स्थानीय निर्वाचन हुने दाबी गरेका छन् । मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सभापति देउवाले वैशाखभित्र कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने दाबी गरेका हुन् ।

उनले ०७४ माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले पनि वैशाखभित्रै स्थानीय निर्वाचन गराउनु पर्ने बाध्यता रहेको बताए । पुस÷माघमा जाडो हुन्छ । चुनाव गर्न सम्भव हुँदैन त्यसैले ०७४ मंसिरभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्छ उनले भने । त्यही अनुसार नै प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरेको उनको भनाई छ ।

देउवाले एमालेलगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याउन प्रधानमन्त्री दाहाललाई दबाब दिँदै आएको बताए । उनले भने,‘एमालेलगायतका विपक्षी दललाई पनि सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्छ। प्रधानमन्त्रीलाई अग्रसरता लिन मैले पटक पटक निर्देशन दिएको छु।’

उनले संविधान संशोधनको विरोध गरेर मधेसी, आदिवासी जनजाति, थारुहरुको भावनालाई नकुल्चन एमालेलाई आग्रह गरे । उनले भने,‘मधेसवादी दलहरुलाई सहमतिमा ल्याउन संशोधन आवश्यक छ । त्यसैले म एमाले लगायत विपक्षी दललाई आग्रह गर्छु, संशोधनको विरोध गरेर उनीहरुको भावना नकुल्चनुस् ।’ देउवाले एमालेलाई सहमतिमा आउन आग्रह समेत गरे ।