☰ open Loading... 18 May 2024|  

तरकारी खेतीमा सुर्खेत आत्मनिर्भर
  | १३ माघ २०७३, बिहीबार ०८:१४

 उत्पादन साढे २५ हजार मेट्रिक टन भन्दा बढि
 जिल्लामा दैनिक खपत करिव ७० मेट्रिक टन
 दैनिक साढे २ मेट्रिक टन निर्यात

पछिल्लो समय सुर्खेत जिल्ला तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उत्पादन भएको तरकारी सुर्खेतमा खपत भई करिव बाहिर जिल्लाहरु समेत निर्यात हुन थालेको छ ।

vegitable

यहाँ कृषकहरुले उत्पादन गरेको तरकारी करिव दैनिक २ दशमलव २५ मेट्रिक टन बाहिरि जिल्ला निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । केही वर्ष पहिले जिल्लामा बाहिरबाट तरकारी आयात गर्नपर्ने अवस्था थियो भने वर्तमान समयमा जिल्लाकै उत्पादनले धानेको जिल्ला कृषि विकास कार्यालयका प्र्रमुख कालिकाप्रसाद कोइरालाले बताए ।

जिल्लामा दैनिक ७० दशमलव ८२ मेट्रिक टन उत्पादन हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताए । जसमध्ये दैनिक ६८ दशमलव ८६ मेट्रिक टन जिल्लामै खपत हुने गरेको उनले बताए ।

यहाँका कृषकहरुले उत्पादन गरेको तरकारी दैनिक रुपमा बाँके लगायत जिल्लामा निर्यात हुने गरेको उनले बताए ।
जिल्लामा गत आर्थिक वर्षमा २५ हजार ८ सय ५० मेट्रिक टन तरकारी उत्पादन भएको, करिव ८ सय ६१ मेट्रिक टन तरकारी अन्य जिल्लामा निर्यात भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

तरकारीहरु विभिन्न संकलन केन्द्र गरि जिल्लामा र बाहिर पठाउने गरिएको बताईएको छ । मुख्य गरि कुनाथरी र बड्डीचौर संकलन केन्द्र, सहारे तरकारी संकलन केन्द्र लगायत अन्य संकलन केन्द्र मार्फत निर्यात गराउने गरिएको कृषि कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको हिउदें सिजनमा १० हजार ८ सय ९८ मेट्रिक टन र वर्षात सिजनमा ७ हजार ३६४ मेट्रिक टन उत्पादन भएको कार्यालको तथ्यांकमा उल्लेख छ ।

उत्पादन हुने मुख्य क्षेत्र

सुर्खेतमा तरकारी उत्पादनमा वीरेन्द्रनगर उपत्यका भन्दा पनि ग्रामीण क्षेत्रका कृषकहरुले बढि अग्रसर भएका छन । जिल्लाको पुर्वी क्षेत्र र उपत्यकामा धेरै तरकारी हुने गरेको कार्यालयको रेकर्डमा उल्लेख छ ।

पश्चिमी गाविसहरुमा भने कम उत्पादन भएको देखाएको छ । वीरेन्द्रनगरमा आउने अधिकांस तरकारी ग्रामीण क्षेत्रबाट आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सुर्खेतमा तरकारी उत्पादन गर्ने मुख्य क्षेत्र कुनाथरी, वीरेन्द्रनगर, साटाखानी, भेरीगंगा नगरपालिका , रामघाट, दशरथपुर, सहारे, मालारानी र पश्चिमको विद्यापुरका लगायतको ठाउँहरु हुन ।

बेमौसमी तरकारी धेरै निर्यात 

जिल्लाबाट निर्यात हुने तरकारीहरु मध्ये सबैभन्दा बढि बेमौसमी उत्पादन हुने तरकारीहरु रहेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कोइरालाको भनाई छ । सबैभन्दा बढि गोलभेडा निर्यात हुने गरेको उनले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी गोलभेडा नै उत्पादन हुने भएकाले गोलभेडा नै बढि बाहिर जाने गरेको उनको भनाई छ ।

तरकारी खेतीमा आर्कषण बढ्दो 

पछिल्लो सयममा तरकारी खेतीतर्फ कृषकहरुको आर्कषण बढ्दै गएको बरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा संचालित युवा लक्षित कार्यक्रमले युवा कृषकहरुको तरकारी खेती तर्फ आर्कषण बढाएको उनको भनाई छ । वर्तमान समयमा जिल्लामा कतिपय कृषक व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका उनले जानकारी दिए ।
यो वर्ष पनि युवा लक्षित कार्यक्रम रहेको बताउदै उनले यस वर्ष एकिकृत जलस्रोत व्यवस्थापन आयोजना अन्र्तगत १० जना कृषकहरुको लागि अनुदान दिईने बताए ।