सुर्खेत । उत्तरी जलाधार क्षेत्रमा पाइने गुराँस संरक्षणका लागि गढी र लेखगाउँमा ‘गुराँस संरक्षण दस्ता’ गठन गरिएको छ । यो दस्ताले गुराँसको संरक्षण, संवद्र्धनका साथै गुराँस टिप्नेलाई कारवाहीको दायरामा ल्याउने छ । गढीमा गौरी केसी र लेखगाउँमा लोकेन्द्र रोकायको संयोजकत्वमा दस्ता गठन गरिएको छ ।

‘जथाभावी टिप्दा उत्तरी जलाधार क्षेत्रमा गुराँस लोप हुँदै गएको छ’ लेखगाउँ संयोजक रोकायले भने, ‘यसको संरक्षण र संवद्र्धन गर्नका लागि दस्ता गठन गरेका हौं ।’ सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा सरोकारवाला कार्यालयको उपस्थितिमा दस्ता गठन गरिएको हो ।
यो दस्ताले सुरुको एक सातासम्म गुराँस नटिप्न आग्रह गर्ने छ । दोस्रो सातादेखि गुराँस टिप्नेलाई कारवाहीको दायरामा ल्याउन प्रहरीसँगै परिचालन हुने छ । माघदेखि फागुनको अन्तिमसम्म गुराँस हेर्न हजारौं उत्तरी जलाधार क्षेत्रका गोठीकाँडा, रातानाङ्ला, गुँरासेलगायतका ठाउँमा पुग्छन् । गुराँस हेर्न जाने मात्रै होइन् स्थानीयहरुले पनि जथाभावी टिप्दा समय अगावै गुराँस रित्तिन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले गुराँस उत्तरी जलाधार क्षेत्रको पहिचान पहिचान भएकाले यसको संरक्षणको पहिलो जिम्मेवारी स्थानीय नागरिकको हुनुपर्ने बताए । ‘उत्तरी जलाधार क्षेत्रमा आउने अधिकांस आन्तरिक तथा बाह्य पर्यटक यहाँको गुराँस हेर्नका लागि आउँछन्’ उनले भने, ‘गुराँसै नरहे यहाँको पहिचान र सौन्दर्य समाप्त हुन बेर लाग्दैन् ।’ उनले गुराँस संरक्षणका लागि गठिन समितिसँग सहकार्य गरेर जथाभावी गुराँस टिप्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले गुराँसको संरक्षणका लागि स्थानीय समुदाय र समितिसँग मिलेर काम गरिने बताए । ‘गुराँस संरक्षण हामी सबैको सरोकारको विषय बन्नुपर्छ’ उनले भने, ‘प्रहरी कार्यालयको तर्फबाट आवश्यक सहयोगका लागि हामी तयार छौं ।’
जिल्ला वन कार्यालयका सहायक जिल्ला बन अधिकृत सूर्यप्रसाद शर्माले गुराँस संरक्षणका लागि प्रचारात्मक अभियानका साथै दण्डात्मक अभियानको थालनी आवश्यक रहेको बताए । ‘हामीले हरेक वर्ष गुराँस संरक्षण र संवद्र्धनका लागि प्रचारात्मक कार्यहरु गर्दै आएका छौं’ उनले भने, ‘अव दण्डात्मक कार्यको पनि थालनी गरिनुपर्छ ।’
सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले नेपाल प्रहरी, नेपाली सेना र जिल्ला बन कार्यालयको सहकार्यमा गुराँस संरक्षण अभियानका लागि दस्ता गठन गरिएको बताए । ‘अव स्थानीयले मात्रै होइन्, गुराँस हेर्न जानेले पनि जथाभावी फूल टिपेर ल्याउन पाउने छैनन्’ उनले भने, ‘त्यसो गरिएको पाइएमा तत्कालै कानुनको दायरामा ल्याउँछौं ।’
अध्यक्ष भट्टराईका अनुसार जिल्ला बन कार्यालयको सहकार्यमा रातानाङ्गला, प्रहरीसँगको सहकार्यमा छेडा र नेपाली सेनासँगको सहकार्यमा कपासेमा चेकजाँच थालिने बताए । ‘हाम्रो पहिलो काम स्थानीहरुलाई जागरुक गर्ने हो’ उनले भने, ‘दोस्रो चरणमा चेकपोष्ट स्थापना गरेरै कारवाही प्रक्रियामा जान्छौं ।’
उनले चेकजाँचका लागि तीन वटै निकायसँग छलफल चलाइएको बताए । ‘गुराँसको संरक्षण गर्नुपर्छ भन्नेमा सबै एकमत हुनुहुन्छ’ उनले भने, ‘यसको संरक्षण र जथाभावी टिप्नेलाई कानुनी दायरामा ल्याउन पनि उहाँहरुले सहयोगको प्रतिवद्धता जनाउनु भएको छ ।’
सामुदायिक सुधार संस्थाका सल्लाहकार भद्र भण्डारीले गुराँसको संरक्षणसँगै आगामी दिनहरुमा गुराँस रोप्ने अभियानको पनि थालनी हुने बताए । ‘भएका गुराँसहरुको संरक्षण गर्दै नयाँ विरुवा रोप्ने अभियान पनि चलाउँछौं’ उनले भने, ‘यसमा सबैको साथ र सहयोगको हामीले अपेक्षा राखेका छौं ।’ यो अभियान अन्र्तगत रातानाङ्ला, गुराँसेलगायतका क्षेत्रमा पनि युवा दस्ता गठन गरिने छ ।