☰ open Loading... 26 July 2024|  

स्थानीय तहको निर्वाचन अपरिहार्य : नेता बडू
  | १४ माघ २०७३, शुक्रबार ०७:४७

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताएका छन । बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख अतिथि नेता बडूले स्थानीय तहको निर्वाचन भए मात्रै देशमा देखिएको सङ्क्रमणकालीन राजनीति अन्त्य हुने दाबी गरे ।

नेपाली काँग्रेस जहिले पनि निर्वाचनको पक्षमा रहेको र आवधिक निर्वाचनका लागि कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । एक अर्को प्रसङ्गमा नेता बडूले प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन नचाहेको आरोप लगाए ।

एमालेले द्वैध चरित्र देखाएको र निर्वाचनका लागि तयार नभएको समेत उनले आरोप लगाए । निर्वाचनलाई अघि बढाउन संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुनुपर्नेमा नेता बडूले जोड दिए ।

देश अहिले खतरामा रहेकाले देश बचाउने जिम्मेवारी सबैको रहेको नेता बडूले बताए  । अहिले सम्मका सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै उनले संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने बताए ।  नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा आमसभा सम्पन्न भएको थियो ।