☰ open Loading... 23 November 2024|  

पुरुषको काम नपत्याएर खेलमैदान बनाए महिलाले
  | १४ माघ २०७३, शुक्रबार १२:५७

जाजरकोट । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् ।  पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बताइन ।

कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको उनको भनाइ छ । कालिका मावि, साल्मा–५, जाजरकोटको खेलमैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन् । भवन भएर पनि खेल मैदान नहुँदा समस्यामा रहेको विद्यालयलाई गाउँलेद्वारा बनाइएको खेलमैदानले सहज बनाइदिएको छ ।

कोटिला सामुदायिक वन उपभोक्ता समूह, साल्माको रु एक लाख अनुदान तथा स्थानीयवासीको रु दुई लाख ५० हजार गरी तीन लाख ५० हजार बराबरको लागतमा विद्यालयको खेलमैदान निर्माण गरिएको हो ।

“विद्यालयमा भवन छ विद्यार्थीका लागि खेल मैदान छैन, विद्यालयले कुनै कार्यक्रम गर्नुपर्दा गाउँलेको खेतबारीमा गर्नुपथ्र्यो, अहिले गाउँका सबै जना मिलेर वन समितिको अनुदान र आफूहरूले श्रमदान गरेर विद्यालयको खेल मैदान निर्माण गर्दा विद्यालयलाई राहत भएको छ”–विद्यालयका प्रधानाध्यापक भगिराम जैसीले भने ।

गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेलमैदान नहुँदा वन समूहमा भएको वन विकासअन्तर्गत सामाजिक तर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताए । स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको तीनसय मिटर लामो खेलमैदान निर्माण गरिएको हो ।

विद्यालय सञ्चालन भएको गाउँका दुईसय १५ घरधुरीका प्रतिघरबाट एक जनाका दरले खेलमैदान निर्माण गर्न श्रमदान गरिएको छ, विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ भने जेनतेन चलाइएको विद्यालयले बताएको छ ।

यो विद्यालयमा चारसय ३६ जना विद्यार्थी पढिरहेको विद्यालयले जनाएको छ । प्रावि तहको तीनजना शिक्षकका भरमा मावि सञ्चालन गरिएको छ ।

विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा माविका लागि तीन, निमाविका लागि चार तथा प्राविका लागि दुईजना गरी नौजना निजी स्रोतका शिक्षक राखिएको छ । गाउँमा मावि सञ्चालन गर्दा गाउँका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको विद्यालयले जानकारी दिएको छ ।

ratopati