☰ open Loading... 24 December 2024|  

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
  | १४ माघ २०७३, शुक्रबार १६:५९

कैलाली भन्सार कार्यालयले निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट आयात हुने वस्तुबाट निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कैलाली भन्सार कार्यालयका प्रमुख यज्ञमूर्ति भन्डारीले जानकारी दिए ।

साउनमा रु १३ करोड आठ लाख ४३ हजार सङ्कलनको लक्ष्य लिएकामा रु डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । भदौमा रु १६ करोड ५६ लाख ४३ हजार लक्ष्य रहेकामा रु १६ करोड १४ लाख, असोजमा रु १४ करोड ३५ लाख ५३ हजार लक्ष्य रहेकामा रु तीन करोड थप राजस्व सङ्कलन भएको छ ।

यस्तै कात्तिकमा रु १९ करोडको लक्ष्य रहेकामा करिब रु तीन करोड बढी राजस्व सङ्कलन भएको भन्डारीले बताए । मङ्सिरमा रु १६ करोड ५० लाखको लक्ष्य लिइएकामा रु सात करोड बढी राजस्व सङ्कलन भएको छ ।

भारतबाट आयात हुने वस्तुमध्ये डिजेलबाट सबैभन्दा बढी रु २६ करोड ७४ लाख ७३ हजार र सबैभन्दा कम जर्धा खैनी र ट्याक्टर आयातबाट रु दुई करोड ५० लाख राजस्व सङ्कलन भएको छ । पेट्रोल र बिस्कुटबाट रु १४-१४ करोड, सिमेन्टबाट रु नौ करोड ६२ लाख, चामलबाट रु तीन करोड ५० लाख, चक्लेटबाट रु तीन करोड ३७ लाख तथा खाना पकाउने एलपी ग्यासबाट रु तीन करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस वर्ष कार्यालयले रु दुई अर्ब सात करोड ४० लाख आठ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।