☰ open Loading... 21 July 2024|  

सुर्खेतका भरसीला युवा नेता
  | १६ माघ २०७३, आईतवार ०८:३७

सुर्खेत । राजनीति देशको मुलनीति हो । देशलाई कुन बाटोमा हिडाउने, कस्ता योजनाहरुबाट देशलाई समुन्नतीको दिशातर्फ लैजाने यी इत्यादीको निर्धारण राजनीतिले गरेको हुन्छ । यहि देशको मुलनीतिलाई आफ्नो भविष्यसंग गासेर अघि बढिरहेका सुर्खेतका युवा पुस्तामा चर्चित नेताहरु हुन, देवकुमार सुवेदी, कुलमणि देवकोटा र ठम्मरबहादुर विष्ट । मध्य वर्गीय परिवारमा जन्मेका तीनै जना नेता फरक —फरक पृष्ठ भुमि र उद्देश्य बोकेर राजनीति क्षेत्रमा होमिएका छन् । अन्य सहायक पेशा विनै दिन रात खटिएका यी नेताहरुको बाल्यकाल, युवा अवस्था, देशको वर्तमान राजनीति र उनीहरुको त्यसप्रतिको बुझाई आदिलाई समेटेर  तयार गरेको रिर्पाेटः

photos-skt

१. देवकुमार सुवेदी
नेपाली कांग्रेस वीरेन्द्रनगर सुर्खेतका सभापति देवकुमार सुवेदीकोको जन्म २०३३ साल मंसिर २७ गते वीरेन्द्रनगर ४ मा भएको हो । रविलाल सुवेदी र जगतकुमारी सुवेदीका माइला छोरा देवकुमार सुवेदीले पाँच वर्षको उमेरमा अध्ययन गर्न स्कुलमा पहिलो पटक पाहिला टेके । उनले पहिलो पाहिला टेकेको विद्यालयका नाम थियो नेरा प्रा.वि. ढोडेखाली । सो स्कुलमा कक्षा पाँच सम्म अध्ययन गरेपछि मावि तह सम्म अध्ययन गर्नका लागि जन मा.वि. बजारमा भर्ना भए । कक्षा ६ देखि १० कक्षा सम्म उनले जन माविमा अध्ययन गरी एस एल सी पास गरे । हाल सुवेदी शिक्षा संकाय तर्फबाट स्नातक तह पास गरेका छन् । ग्रामीण विकास विषयमा एम ए गरेका सुवेदीको बाल्यकाल निकै रमाइलोमा वित्यो । कुनै कुरोको समस्या सुवेदीलाई भएन । साथी भाईहरुको रमाइलो संगतमै बाल्य अवस्था पार गरेका सुवेदी आफ्ना आमा बुबाको माया प्रेममै युवा अवस्थामा प्रवेश गरे ।

कसरी अाए राजनीतिमा ?
सुवेदीलाई राजनीतिमा कसैले आउन कर गरेको होईन । उनी एक सुर्खेत जिल्लाका जानेमाने शिक्षकको छोरा हुन । आफ्नो इच्छाले राजनीति आएको बताएका उनीकुनै दिन जन उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए भने समयक्रममा सोहि विद्यालयको अध्यक्ष पद समेत सम्हाल्ने अवसर पाए ।

२०४६ सालको चैत्र महिना जतिखेर नेपाली कांग्रेसको आयोजनामा पीपल चौतारीमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो, आज भोलीको जस्तो जन मा.वि.मा घेरवार पनि गरिएको थिएन । कार्यक्रममा कांग्रेसका चार तारे झण्डाहरु लहरै फरफराइ रहेको थिए । उनलाई त्यो कुन पार्टीको झण्डा हो भन्ने ज्ञान थिएन । त्यो झल्को मेरो आँखा वरिपरी दैनिक आइ रहन्थ्यो, उनले बताए । २०४६ सालको जनआन्दोलन लगत्तै मुलुकमा पंचायती व्यवस्थाको अन्त्य भई मुलुकमा बहुदलीय व्यवस्था स्थापना भयो ।

काँग्रेस नेताहरुलाई दमन गरेको झझल्को त मेरो आँखाको वरिपरि घुमीरहेको थियो । बहुदल स्थापना भए लगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा संगठन विस्तार गर्न आई पुगेको थियो । त्यो समय थियो, २०४७ साल फागुन महिना ।

उनलाई गठित कमिटीमा इकाइ कमिटीको सचिव बनाइको थियो । २०४७ साल देखि राजनीति सुरु गरेका सुवेदीले अध्यायन संगै राजनीतिलाई संगसंगै लगे । त्यसपछि विद्यार्थी संघको जिल्ला कमिटी सचिव र पार्टीको विद्यार्थी विभागको केन्द्रीय सदस्यसम्म बने । त्यसपछि पार्टीको जिल्ला कार्यसमितिको सदस्य बनेका सुवेदीलाई वीरेन्द्रनगर नगरपालिका नगर कमिटीको सभापति बन्ने अवसर प्राप्त भयो ।

उनले नगर सभापतिमा उम्मेदवारी दिए । नेपाली कांग्रेसको १२ औँ महाधिवेसनबाट उनी प्रथम पटक नगर सभापतिमा बिजयी भएका थिए भने दोश्रो पटक १३ औँ महाधिवेसनबाट पनि अत्यधिक मतका साथ सभापतिमा निर्वाचित भए ।
किन आए राजनीतिमा ?
उनी राजनीति क्षेत्रका आउनुलाई सामान्य घटनाको रुपमा लिने गर्दछन् । उनको राजनीतिमा आउनुको मुख्य कारण हो समाजलाई रुपान्तरण गर्न र समाजलाई आर्थिक समृद्धिको बाटोमो अघि हिडाउन । सुवेदीले भने, आफ्नो स्वार्थपुर्तिका लागि राजनीतिमा आएको होइन, सामाजिक रुपान्तरणका लागि राजनीतिमा प्रवेश गरेको हुँ ।

‘वर्तमान राजनीति प्रति असन्तुष्ट छु’
वर्तमान समयको राजनीतिक अवस्था आफुलाई मन नपरेको उनले बताए । अहिलेका राजनीति भनेको गुट उप गुटको आधारमा छ, एकता भई अगाडी बढेको छैन, सुवेदीको भनाई छ । वर्तमान सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयक केही पक्षमा राम्रो भएतापनि अन्य पक्षमा राम्रो नभएको बताए ।

नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा राम्रो भएपनि पहाडबाट मधेस टुक्राउने गरी बनाइएको संशोधन गलत भएको बताए । म कुनै पनि हालमा पहाडबाट तराईलाई छुटाएर अलग प्रदेश बनाउने प्रस्तावमा सहमत छैन । उनले थपे, म राष्ट्रियता खलबलाउने गरी आएको संशोधनको प्रस्तावलाई आफुले स्वीकार गर्न नसक्ने बताए ।

पहाड र तराईलाई छुटाउनु हुदैन, पहाड तराई र हिमाल मिलेर नेपालको राष्ट्रियता बचेको छ । मधेसी मोर्चाले उठान गरेका केही मागहरु त पुरा गर्नु पर्छ तर पुरा गर्ने नाममा राष्ट्रियता खलबलिने काम गर्नु हुदैँन । हामी एउटै घरमा मान्छे हौँ, कोठा फरक फरक हुन सक्छन, सभापति सुवेदीले थपे, घर नै भत्काउने गरी संविधान संशोधन गर्न दिदैनौँ ।
भावी योजना
वीरेन्द्रनगरलाई व्यवस्थित बनाउनको लागि दीर्घकालिन गुरुयोजनाहरु निर्माण गरि कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई व्यवस्थित गर्ने, उपत्यकामा अर्को हटलाईन सडक निर्माण गर्ने उनका योजनाहरु रहेका छन् ।

सुन्दर वीरेन्द्रनगर बनाउनका लागि बाहिरी चक्रपथ निर्माण, फोहोर मैला व्यवस्थापन र शहरी बेरोजगारहरुका लागि ठोस योजना बनाउने सभापति सवेदीका योजनाहरु रहेको छन् । साथै उत्तरी जलधार क्षेत्रलाई संरक्षण सवद्र्धन गर्ने उनले बताए । उनले भने, म पार्टीको केन्द्रीय सभापति भएको खण्डमा सबै भन्दा पहिला वीपी कोइरालाको सिद्धान्तलाई कार्यान्वयन गरी मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउछु ।

२. कुलमणि देवकाेटा
२०२८ साल चैत्र १० गते साविकको वीरेन्द्रनगर ९ (कटकुवा) गाविसमा कुलमणि देवकोटाको जन्म भएको हो । भक्तिराम देवकोटा र नन्दा देवकोटाका जेठा सन्तान देवकोटाले पहिलो पटक भारतको नयाँ दिल्लीको पुना भन्ने ठाउँमा ५ वर्षको हुँदा औपचारिक पढाई सुरु गरेका थिए । देवकोटाले कक्षा ३ सम्म भारतमै अध्ययन गरे । त्यस पश्चात उनी नेपाल फर्किए । उनले नेपालमै अध्ययन सुरु गरे ।

अमरज्योति मा.वि.मा ४ कक्षा देखि कक्षा १० सम्म अध्ययन गरे । सो विद्यालयबाट उनले २०४८ सालमा एस.एल.सी पास गरे । त्यतिबेला देवकोटा २० वर्ष उमेरका थिए । उनले एसएलसी पास गर्ने समयमा मुलुकमा बहुदलिय व्यवस्था स्थापना भइसकेको थियो । एस.एल.सी पास गर्दा गर्दै उनी विद्यार्थी राजनीतिमा होमिए । चुनौतिको सामना एवं अवसर दुवैको बीच संगठन विस्तार गर्ने कार्यमा होमिए ।

एस एल सी पास गरिसके पछि २ वर्ष जति त्यतिकै खाली बस्नु प¥यो । त्यो समय नेता देवकोटा भारतको मुम्वई भन्ने ठाउँ गए । त्यो ठाउँमा दुई वर्ष जति विताए । उनी भारत गएपनि उनको ध्यान भने अध्ययनको निरन्तरता र समाजको परिवर्तन कसरी हुन्छ भन्ने तर्फ थियो ।

अध्ययनले केही पछि परेपछि देवकोटा तत्काल वीरेन्द्रनगरमा फर्किए र तत्काल प्रवीणता प्रमाण पत्र तह अध्ययन शुरु गरे । उनले वीरेन्द्रनगर बहुमुखि क्याम्पसमा कानुन विषय अध्ययन गर्न सुरु गरेका हुन । उनले अध्ययन संगै राजनीति पनि संगसंगै लगे ।

यस अघिपनि विद्यार्थी अवस्थामा हुदाँ पंचायतकालमा राजतन्त्रको चर्को विरोध गर्दै देवकोटा सामाजिक परिवर्तनको कार्यमा होमिने गर्थे । उनका अनुसार कहिले टोल सुधार समिति गठन गरियो भने कहिले रक्सी बन्द गर्ने अभियानमा लाग्ने गरिन्थ्यो ।

कसरी आए राजनीतिमा
देवकोटालाई कसैले राजनीति गर्नु पर्छ भनेको होइन । आफ्नो स्व इच्छाका कारण राजनीतिमा आएका उनलाई पंचायती व्यवस्थाको विसंगति नै यस क्षेत्रमा आउने प्रमुख कारण बन्न पुग्यो । देवकोटा स्कुलमा अध्ययन गर्दा छिमेकमा पंचहरुले शासन गरेका र उनीहरुले निम्न वर्गलाई हेप्ने प्रथा थियो । मलाई त्यो पंच नेताहरुको विचार र सिद्धान्त मन पर्दैनथ्यो, उनले बताए ।

त्यो व्यवहार अरुलाई गरेपनि आफैलाई गरे जस्तै लाग्ने गरेको कुराकानीका क्रममा बताए । पंचायत र निरंकुश सरकारका विरुद्धमा त्यतिखेर कम्युनिष्टहरु लागेको थिए । मैले कम्युुनिष्टको सिद्धान्त अध्ययन गरे ।
वर्तमान राजनीति प्रति असन्तुष्टि छु
मुलुकको वर्तमान राजनीति अवस्था प्रति आफु पटक्कै सन्तुष्ट नभएको बताए । अहिलेको राजनीति निरपेक्ष ढङ्गले अघि बढेको कारण असन्तुष्ट भएको उनले बताए । अधिकारको हिसाबले हेर्ने हो भने सन्तुष्ट भएको र पंचायत र राजतन्त्रको अन्त्य गर्दा त्यसमा सन्तुष्ट हुनु पर्ने थुप्रै कारण रहेको बताए ।

जुन गतिमा संविधान कार्यान्वयन हुन प¥थ्यो त्यहि गतिमा कार्यान्वयन हुन सकेको छैन, देवकोटाले भने, यतिखेर स्थानिय निकायको निर्वाचन गरि संविधान कार्यान्वयन गर्ने बेला हो । हाल देशमा चलिरहेको संविधान संशोधनको क्रियाकलाप प्रति असन्तुष्टि जनाउदै सो प्रस्ताव त्यति महत्वपुर्ण छैन, उनको भनाई छ । मुलुकलाई समृद्धि र अधिकार सम्पन्न गराउनका लागि मदन भण्डारी जस्ता राज नेताको आवश्यकता पर्छ,उनको भनाई छ ।

भावी योजना
उनको योजना सुर्खेत उपत्यकामा रहेको खानेपानीको भयाबह अवस्थालाई सामान्यीकरण गर्नु रहेको कुराकानीका क्रममा बताए । देवकोटाले भने, मेरो भावी योजना भनेको उपत्यकामा रहेको खानेपानीको समस्यालाई समाधान गर्ने हो । सात वर्ष भित्र उपत्यकाका १ घर १ धारा पु¥याई उपत्यकामा वर्तमान समयमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्नेे उनको योजना रहेको छ ।

खानेपानीको समस्यालाई समाधान गर्नका लागि उत्तरी जलधारको संरक्षण तथा उपयुक्त गुरु योजना बनाउछु, र खानेपानीको समस्यालाई हटाउने काममा लाग्छु, उनको भनाई छ । उपत्यका भित्र विकास निर्माणका काममा दलीय एकता छैन, उनले थपे, त्यो प्रचलनको अन्त्य गरी विकास निर्माणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको लक्ष्य छ ।

अहिले मन्त्रालयमा पनि समन्वयको अभाव छ । म त्यो ठाउँमा पुगेको खण्डमा मन्त्रालयहरु बीच समन्वय गरी देशको ५० प्रतिशत समस्या हल गर्नेछु , देवकोटाको भनाई छ । हाल मन्त्रालय मन्त्रालय बीच समन्वय नहुदाँ धेरै समस्याहरु सिर्जना हुने गरेको उनको भनाई छ । एउटै मुलुकमा मन्त्रालयहरु बीचको सम्बन्ध र समन्वय अलग—अगल देशको जस्तै रहेको उनले बताए ।

३. ठम्मर विष्ट
ठम्मरबहादुर विष्ट (संगिन) नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन । उनको जन्म २०२७ साल चैत्र ५ गते घुमखहरे गाविसमा भएको हो । उनी बेगबहादुर विष्ट र जसुधा विष्टका छोरा हुन । ६ वर्ष उमेरमा नेता विष्टले पहिलो पटक स्कुलमा पहिला टेकेका थिए । उनले अध्ययन गरेको विद्यालयको नाम हो भेरी नि.मा.वि घुमखहरे ।

त्यतिवेला उनले भेरी निम्न माध्यमिक विद्यालयबाट कक्षा आठ सम्म अध्ययन गरेका थिए । त्यस पश्चात कक्षा नौँ र १० आनन्द माध्यमिक विद्यालय गुमीमा गरे । उनले एस एसी पनि गुमीबाटनै पास गरे । नेता विष्टले एस एल सी पास २०४५ सालमा गरेको थिए । त्यतिखेर गाउँमा स्कुल थिएन । पढ्नका लागि बाहिर जानु पथ्र्यौ । सामान्य खर्चबाट संघर्ष गरेर अध्ययन गरेको हुँ,उनको भनाई छ ।

कसरी प्रवेश गरे राजनीतिमा
सुर्खेतका युवा नेताहरु मध्य विष्ट एक अब्बल राजनीतिज्ञ हुन । राजनीति क्षेत्रका प्रवेश गुर्नको उनको एउटै मात्र कारण थियो पंचायती व्यवस्था ।उनलाई राजनीतिमा आउन बाध्य बनाउने कारणमा निरंकुश पंचायती व्यवस्थाको दमन नै हो ।

त्यतिखेर पंचायती व्यवस्था उनलाई कति पनि मन पर्दैनथ्यो । उनी गुमी अध्ययन गर्ने क्रममा कम्युनिष्टका केही नेताहरु उनका सम्पर्कमा आएका थिए । रुढीवादी सोचको अन्त्य गर्नका लागि आफु राजनीतिमा प्रवेश गरेको हुँ, आफ्नो स्वार्थ पुरा गर्नका लागि होइन, उनको भनाई ।

उनले थपे, पंचायती व्यवस्था त अन्त्य भयो तर मुलुकमा बहुदलले प्रवेश गरेपनि जनताको समस्या ज्यूँका तिउ रहे । त्यस पश्चात मेरो सम्पर्कमा कम्यूनिष्टका नेताहरु आए । म जनयुद्ध तर्फ प्रवेश गरे र बन्दुक उठाए, उनको भनाई छ । जनयुद्धमा देखि शान्ति सम्झौता गर्दा समेत मेरो महत्वपुर्ण भूमिका रह्यो, उनले दावी गरे ।

देशको प्रणाली प्रति असन्तुष्टि
मुलुकको वर्तमान प्रणाली प्रति आफु असन्तृष्ट भएको बताएका छन् । जनताका प्रतिनिधिबाट संविधान त जारी ग¥यौँ, उनले थपे, आफुहरुको योजना टुडिखेलमा बसेर संविधान लेखेर संविधान घोषणा गर्ने लक्ष्य थियो । अहिलेका उपलब्धीहरु त सकरात्मक छन्, नेता विष्टले बताए । संविधान कार्यान्यन भएको छैन, संविधान घोषणा भएको १७ महिना भयो तर स्थानीय तहको निर्वाचनको टुंगो लागेको छैन ।

तत्काल स्थानीय तहको निर्वाचन हुनुपर्छ, उनको भनाई छ । स्थानीय तहको निर्वाचनका लागि सबै दल एकजुट हुन पर्ने आवश्यकता छ । मधेसी मोर्चाले संविधान संशोधनका नाममा स्थानीय तहको निर्वाचन विथोल्न खोजेको नेता विष्टको आरोप छ । संविधान संशोधनलाई थाति राखेर तत्काल स्थानीय तहको निर्वाचन गर्नु पर्छ, उनले थपे, संविधान कार्यान्वयनलाई अगाडी बढाउनु पर्छ ।

भावी योजनाहरु
नेता विष्ट भन्छन्, सबैभन्दा पहिला विकास भन्दापनि संस्कारको विकास गराउनु पर्ने जरुरी रहेको छ । सबैभन्दा पहिलो योजना भनेकोे परम्परागत संस्कारको परिवर्तन गर्न कोशिस गर्नेछु, त्यसपछि भष्टाचारलाई निर्मुल गर्ने, आफ्ना भावी योजनाहरु सुनाए ।

वर्तमान समयमा अतिवादी सोचको अन्त्यका लागि पहल गर्ने र मुलुक संघिय गणतन्त्रमा प्रवेश गरिसकेको समयमा समय अनुकुल चल्नु आजको आवश्यकता रहेको उनको भनाई छ । विकासलाई पारदर्शी बनाउनका लागि आवश्यकताका आधारमा योजनाहरुको छनौट हुनु पर्छ, नकि पहुँचका आधारमा ।

स्राेत : सिद्धदर्शन दैनिक