स्थानीय विकास मन्त्रीको सचिवालयका एक कर्मचारीले मातहतका कार्यालयलाई दबाब दिँदै इन्धन बाँड्ने गरेको खुलासा भएको छ । गुल्मी निवासी भीमकान्त भण्डारीले प्यूठान जिविस र नगरपालिकाबाट स्वर्गद्वारी घुम्न आएका गाउँलेको बसलाई इन्धन राख्न दबाब दिएका थिए ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका नायब सुब्बा भण्डारीलाई मन्त्री हितराज पाण्डेयले आफ्नो सचिवालयमा काजमा ल्याएदेखि उनले जिल्ला जिल्लामा फोन गर्दै आफ्ना मान्छेलाई डिजेल दिन दबाब दिन थालेको स्रोतले बतायो । मन्त्रीका स्वकीय सचिव रवीन्द्र मरहट्ठाको नजिक रहेका भण्डारीले आफ्नो गाउँ छापहिले गाविस गुल्मीको जमलपोखरा माविबाट शैक्षिक भ्रमणमा माघ ६ गते स्वर्गद्वारी आएको टोलीको गाडीमा डिजेल राख्न लगाएका थिए ।
जिविस गुल्मीबाट ९५ लिटर, प्यूठान जिविसबाट ५० र नगरपालिकाबाट २० लिटर प्यूठानको जीवनदान सप्लायर्स पुन्यखोलाबाट समेत डिजेल राखेको विद्यालयका शिक्षक अशोक जीसीले टेलिफोनमा बताए ।
तेल राखिदिनुपर्ने अवस्था आएपछि जिविसको नभएर व्यक्तिगत रूपमा डिजेल किन्ने रकम दिएको प्यूठानका स्थानीय विकास अधिकारी इन्द्रप्रसाद बस्यालले बताए ।
मन्त्रीका स्वकिय सचिव मरहट्ठाले मन्त्रीको सचिवालयबाट डिजेल दिन लगाएको विषयमा जानकारी नभएको बताए । ‘सचिवालयमा यो विषयमा कुनै सल्लाह भएको छैन,’ उनले टेलिफोनमा भने, ‘उहाँले व्यक्तिगत रूपमा गर्नुभएको भए राम्रो भएन ।’
-इकान्तिपुर