☰ open Loading... 25 October 2024|  

त्रिवेणी धाममा कोटीहोम र महामहोत्सव हुने
  | १७ माघ २०७३, सोमबार ०८:३१

कर्णाली अञ्चलको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको कुडारी जुम्लास्थित ब्रह्माकपाली भूवनेश्वरी त्रिवेणी धाममा कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ ।

ब्रह्माकपाली भुवनेश्वरी त्रिवेणी धाम र भक्तियोग फाउन्डेसन नेपालको सहकार्यमा आगामी ०७४ साल वैशाख १४–२८ गतेसम्म झन्डै आधा महिना कोटीहोम तथा धार्मिक महामहोत्सव लगाइने भएको छ । आइतबार त्रिवेणी धाममा कर्णाली अञ्चलका धार्मिक तथा संस्कृतिविद् रमानन्द आचार्य, जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासे, प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहित समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मी सम्मिलित भेलाले कोटीहोम र धार्मिक महामहोत्सव लगाउने निर्णय गरेको हो ।

भक्तियोग फाउन्डेसन नेपालका प्रमुख व्यवस्थापक हेमराज रिजालले पूर्वबाहिनी भएको नेपालकै प्रसिद्ध यो तीर्थस्थललाई ठूलो धाममा विकसित गर्न, नेपालको धर्म, संस्कृति र सभ्यता बचाउन कोटीहोम र धार्मिक महामहोत्सवको आयोजना गरिएको बताए ।

कोटीहोम व्यवस्थापन तथा सञ्चालनका लागि सेतीवाडा मावि कुडारी जुम्लाका प्रधानाध्यापक गोरखबहादुर शाहीको संयोजकत्वमा ५०० सदस्यीय कोटीहोम तथा धार्मिक महामहोत्सव मूल आयोजक समिति गठन गरिएको छ । कोटीहोममा एक करोड २५ लाखको बत्ती बालिने र १०८ ब्राह्मणको सहभागिता हुने मूल आयोजक समितिका अध्यक्ष शाहीले जानकारी दिए ।

त्रिवेणी धामलाई नेपाल तथा विश्वकै आस्थाको केन्द्र र धार्मिक, ऐतिहासिक पर्यटकीय थलोका रुपमा विकास गर्ने दूरगामी सोचले विभिन्न बाधा, अवरोध र चुनौतीका बीचबाट कोटीहोम तथा धार्मिक महामहोत्सव लगाउने योजना निर्माण गरिएको समिति महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।