☰ open Loading... 20 April 2024|  

पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता
  | २० माघ २०७३, बिहीबार १२:३६

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । पश्चिम नेपालका सुर्खेतमा १८, जुम्ला १४, राेल्पा ११ र बाजुरामा ८ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

सुर्खेत जिल्लामा १८ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय निर्वाचनमा सहभागी हुन र तयारी गर्नका लागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा विवरणसहित दलहरु अद्यावधिक भएका हुन् । निर्वाचन आयोगले हिजो ‐सोमबार)सम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार सुर्खेतमा अन्तिम दिनसम्म १८ राजनीतिक दलले विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, सुर्खेतका निर्वाचन अधिकारी सुनिता थापाले जानकारी दिइन् ।

सरकारले स्थानीय तह निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।

निर्वाचन कार्यालयमा पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम ‐लोकतान्त्रिक) छन् ।

यस्तै, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल समावेशी पार्टी, पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टी, अखण्ड नेपाल पार्टी, युनाइटेड गे्रन अर्गनाइजेशन र नेकपा माले जनसमाजवादी पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । केन्द्रमा दर्ता भएका दलहरुले स्थानीय निर्वाचनका लागि जिल्लामा विवरण अद्यावधिक गराएका हुन् । हाल केन्द्रमा १ सय ११ दल दर्ता छन् ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सुर्खेतले गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पनि सम्पन्न गरेको छ । कार्यालयले जिल्लाभर पुस १७ देखि माघ १७ गतेसम्ममा गाउँ गाउँ पुगेर फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गरेको हो । गत वर्ष ३२ गाविसमा मात्रै सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन अभियान यो पटक भने जिल्लाका सबै स्थानमा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी थापाले बताईन् ।

यो पटक २०७० सालपछि दर्ता भएका नामावलीको दावी विरोध र अद्यावधिक गर्ने काम समेत गरिएको उनले जानकारी दिइन् । जिल्लामा ९२ हजार ८ सय ६६ महिला, ८६ हजार ५ सय ४७ पुरुष र एक जना तेस्रोलिङ्गीे गरि हाल जिल्लामा १ लाख ७९ हजार ४ सय १४ जना मतदाता नामावलीमा दर्ता छन् । २०६८ को जनगणना अनुसार अझै झण्डै ६४ हजारले मतदाता नामावली बनाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

यसअघि छुटेका मतदाता यस पटकको नामावली संकलन तथा अद्यावधिकमा समेटिने अपेक्षा निर्वाचन कार्यालयको छ । यद्यपि, हिजो मात्रै संकलनको काम सकिएकाले अब जिल्लामा कति मतदाता छन् भन्नेबारे केही दिन पछि मात्रै थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

जुम्ला स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि जुम्लामा क्रियाशील १४ दलले जिल्ला निर्वाचन कार्यालय जुम्लामा विवरण अद्यावधिक गराएका छन् ।

निर्वाचन आयोग नेपालले जारी गरेको सूचनाबमोजिम फारम भरिआएका दलको विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए ।

विवरण अद्यावधिक गर्ने दलमा नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, देशभक्त समाजवादी पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए ।

निर्वाचन आयोगले दिएको अन्तिम मिति यही माघ १७ गतेसम्म भएको र सोही मितिको परिधिभित्र विधि प्रक्रिया पु¥याएर आएका दलको विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सुवेदीका अनुसार जुम्लामा नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।

रोल्पा आसन्न स्थानीय निर्वाचन प्रयोजनार्थ रोल्पामा ११ वटा राजनीतिक दल दर्ता भएका छन । दल दर्ताका लागि दलले जिल्ला निर्वाचन कार्यालयमा पठाएको पत्रका आधारमा पहिलो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता भएको छ ।

यसैगरी, दर्ता हुने अन्य राजनीतिक दलमा सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (माले), नयाँ शक्ति नेपाल पार्टी र राष्ट्रिय जनमोर्चा रहेको जिल्ला निर्वाचन अधिकारी गिरीराज ज्ञवालीले जानकारी दिए ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दिएको म्यादअनुसार जिल्लामा यी दल दर्ता भएको ज्ञवालीले जानकारी दिनुभयो । दल दर्ताका लागि जिल्लामा म्याद सकिएको भएपनि पुनः निवेदन आए आयोगमा दर्ता गर्न जिल्लावाट सिफारिस गर्न सकिने बताइएको छ ।

जिल्लामा दर्ता रहेका ११ दलमध्ये नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र नयाँ शक्ति नेपाल पार्टी नयाँ भएपनि अन्य नौ दल भने यसअघिको संविधान सभा निर्वाचनमा सहभागिता जनाएका दल हुन् ।

बाजुरा स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागी बाजुरामा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बाजुरामा विवरण पेस गरी दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले सोमवार अर्थात् माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बाजुरामा अन्तिम दिनसम्म नौ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बाजुराका निमित्त जिल्ला निर्वाचन अधिकारी मानबहादुर थापाले राससलाई जानकारी दिए ।

पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा जनसमाजवादी (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँशक्ति पार्टी नेपाल, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । जिल्लामा रहेका क्रियाशील पार्टीले विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।

बाजुरामा नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दुर्गा थापाले बताए । उनले दोस्रो संविधान सभाको चुनावमा भाग लिनका लागि जिल्ला निर्वाचन कार्यालयमा स्वतन्त्र पार्टीसहित १४ दल दर्ता भएको थापाको भनाइ रहेको छ ।