☰ open Loading... 16 September 2024|  

बाजुरामा नुन डिपो थपिने
  | २० माघ २०७३, बिहीबार १६:५०

भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले जिल्लामा थप दुईवटा स्थायी डिपो थप्ने तयारी भएको छ । ‘आयोडिन दिवस’का अवसरमा बुधबार नेपाल साल्ट ट्रेडिङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले जिल्लामा दुईवटा नुन बिक्री डिपो केन्द्र थप्ने तयारी भइरहेको बताएका छन ।

सदरमुकाम मार्तडीबाट ४० कोष टाढा रहेको बिच्छ्याको कवाडीमा तथा कुल्देवमाण्डौ गाविसको मौरेमा नयाँ स्थायी डिपो स्थापना गरिने उनले जानकारी दिए । मौरे डिपोबाट कम्तीमा छवटा गाविसका नागरिकलाई आयोडिनयुक्त नुन सहज रुपमा पाउने छन् । कवाडी डिपोबाट रुगिन र विच्छ्या तथा छिमेकी जिल्ला हुम्ला र मुगुका बासिन्दालाई प्रतिकिलो रु नौ मा नुन उपलब्ध गराइने छ ।

“अझै आयोडिनयुक्त नुन सर्वसाधारणको पहुँचमा छैन,” उपमहाप्रबन्धक पाण्डेले भने । डिपोभन्दाबाहेक अन्यत्रबाट नुन बिक्री गरेको पाइएमा रु २५ हजार जरिवाना गर्ने कानुनी प्रावधान छ ।

जिल्लामा सबैभन्दा बढी थाइराइडका बिरामी देखिएकाले आयोडिनयुक्त नुनको प्रयोग आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मोहन नाथले बताए । जिल्लामा नौ हजार क्विन्टल नुनको आवश्यकता पर्छ ।

तर, जिल्लामा वार्षिक दुई हजार क्विन्टलसम्म मात्र आयोडिनयुक्त नुन बिक्री हुने गरेको पाइएको छ । अझै पनि यहाँ ढिके नुनको प्रयोग भइरहेको छ । जिल्लामा आठ हजार ३०० क्विन्टल नुन स्वीकृत भई आएको छ । कोल्टी डिपोमा मात्र तीन हजार ९०० क्विन्टल तथा मातर्डीमा दुई हजार क्विन्टल नुन मौज्दात रहेको बताइएको छ ।