☰ open Loading... 14 November 2024|  

चिनियाँ र भारतीय रेलमा किन यस्ताे फरक ?
  | २० माघ २०७३, बिहीबार १६:२०

भारतीय रेलको भन्ने बित्तिकै मैलो च्यादर, बेस्वादको चिसो खाना, घण्टौँको ढिलाई र दुर्घटनाको याद आउँछ भने चिनियाँ रेलले सफा, तीव्र गति, नियमितता र सुरक्षित यात्राको याद दिलाउँछ ।

रेलको सन्दर्भमा चीनलाई शिखरमा पु¥याउने परियोजना हो सन् २००७–८ मा सुरु भएको ‘हाइस्पिड रेल नेटवर्क ।’ करिब २० हजार किलोमिटरको यो सञ्जाल विश्वमा रहेका उच्च गतिका रेल सञ्जालमध्ये आधाभन्दा बढी हो ।

यो सञ्जालमा चल्ने रेल प्रतिघण्टा ३ सय किलोमिटरको दरले दौडिन्छ । त्यसैले यसको नाम ‘बुलेट ट्रेन’ राखिएको हो ।भारतमा यस्तो कुनै सञ्जाल छैन । जुलाई २०१६ मा सुरु गरिएको आगरा–दिल्ली गतिमान एक्सप्रेसको अधिकतम गति प्रतिघण्टा १६० किलोमिटर मात्रै छ ।

तर चीनको यो चम्किलो तस्वीरमा केही कालो धब्बा पनि लुकेको छ । चीनका लागि उच्च गतिको रेल सञ्जालको विकास निकै महंगो साबित भएको छ ।

‘चाइना रेल कर्पोरेसन’ का अनुसार उसमाथि ६ सय अर्ब डलरभन्दा बढी ऋण छ । खासमा चीनको रेलमा भएको यो तीव्र विकास गत २५ वर्षमा गरिएको लगानीको प्रतिफल हो । सन् १९९० मा चिनियाँ रेलको गति प्रतिघण्टा ३५–४० किलोमिटर मात्रै थियो ।

 rail
भारतीय रेलमा विद्यमान कठिनाइजस्तै चीनमा पनि सुरुमा बनेका रेलमार्गमा यात्रुहरुको निकै ठूलो दबाब थियो । जसले गर्दा नयाँ प्रविधियुक्त रेलमार्ग विकसित गर्ने आवश्यकता थियो ।

यस्ता आवश्कताहरुलाई मध्यनजर गर्दा उच्च गतिको रेल निर्माण गर्नु त्यति खर्चालु थिएन । एक पार्टी प्रणाली भएको चीनमा जमिन अधिग्रहण गर्न सजिलो थियो र मानिसलाई सस्तो ज्यालामा काम गराउन सकिन्थ्यो । त्यसले झण्डै २० हजार किलोमिटरको उच्च गतिको रेल सञ्जाल हतारमा निर्माण गरियो । यसका थुप्रै परियोजनामा विश्व बैंकले पैसा लगानी गर्यो ।

धेरैजसो रेल मध्य र पूर्वी चीनमा बनाइयो । तर बसोबास कम भएको र बस्तीभन्दा १०० किलोमिटर टाढा भएका स्थानमा पनि रेलको लिक बिच्छ्याइयो ।

ती मार्गमा टिकटबाट हुने कमाइभन्दा तीन गुणा बढीसम्म घाटा भएको छ । पहिले जहाँ रेल जान्छ, त्यहीँ बस्ती बस्दै जान्छ भन्ने सोचिएको थियो । ठूलाठूला सहरको आसपास स्याटेलाइट सहरको विकास त भयो तर साना सहरको नजिक अरु सहर स्थापना भएनन् ।

उच्च गतिको रेलमार्ग सीधा हुनुपर्ने भएकोले पनि सहरभन्दा टाढा स्टेसन बनाइएको थियो । विश्वभरी नै उच्च गतिको रेल सीधा लिकमा नै चलाइन्छ । यसै कारणले गर्दा गतिमान एक्सप्रेसले दिल्ली–आगराको बीचमा चल्ने शताब्दीभन्दा अलिकति मात्रै कम समय लिन्छ । किनभने त्यहाँको रेलमार्ग घुमाउरो छ । उच्च गतिमा चल्ने क्षमता भएपनि रेल केही स्थानमा मात्रै त्यो गतिमा चल्न सक्छ ।

सांघाई–बेइजिङजस्ता केही रेलमार्गबाट मात्रै नाफा भइरहेको छ । त्यसैकारण त्यो मार्गको नजिक बस्ती बसेको छ । तीव्र गतिसँग सम्बन्धित अन्य समस्या पनि छन् । सन् २०११ मा चीनका दुई उच्च गतिका रेल ठोक्किदाँ ४० को मृत्यु भयो र रेल मन्त्रीले राजीनामा दिनुपर्यो ।

कतिसम्म गरियो भने रेल मन्त्रालयलाई नै बन्द गरियो रेललाई परिवहन मन्त्रालयमा मिसाइयो । साथै रेलको गतिलाई ३५० किलोमिटर प्रतिघण्टाबाट घटाएर ३०० किलोमिटर बनाइयो ।

भारतको रेलको लिकहरुको खराब अवस्थाका कारण तीव्र गतिको रेल चलाउँदा हुने दुर्घटनाको खतरा ठूलो चुनौती हो । भारतले स्पेनबाट ल्याएको टेल्गो रेलको गति १८० किलोमिटर प्रतिघण्टा छ तर उसलाई अहिलेसम्म प्रयोगमा ल्याउन सकिएको छैन । किनभने सुरक्षा र गतिसँग सम्बन्धित परीक्षणमा त्यो रेल सन्तोषजनक रुपमा पूरा हुन सकेको छैन ।

भारतमा हरेक वर्ष ४५०० किलोमिटर रेलको लिक नवीकरण गरिनुपर्ने आवश्कता छ तर बजेट अभावका कारण गत ६ वर्षमा यो निरन्तर कम हुँदै गइरहेको छ ।

सरकारी रिपोर्टअनुसार अप्रिल २०१४ सम्ममा ५३०० किलोमिटर लिक नवीकरण हुनुपर्ने थियो तर त्यसबेला मात्र २१०० किलोमिटर काम सम्पन्न भएको थियो ।

आधाभन्दा बढी रेल दुर्घटना बार नलगाइएको रेलमार्ग पार गरिरहेका मानिस र तिनीहरुको वाहन रेलसँग जुध्दा हुने गरेको छ । राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार २०१४ मा रेल दुर्घटनामा मारिएका करिब २८ हजार मानिसमध्ये करिब १८ हजार रेलबाट झरेर वा ठोक्किएर मारिएका थिए ।

अप्रिल २०१४ मा भारतमा ११ हजार भन्दा बढी रेल पार गर्ने आकासे पुल, सबवे वा क्रसिङ बनाउनुपर्ने थियो तर त्यो पनि पैसाको कमीका कारण रोकिएको छ ।

आम्दानीको तुलनामा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने लागत दुई गुणाभन्दा बढी रहेको भारतीय रेलको भनाइ छ । दोस्रो श्रेणीको टिकटको मूल्य कम राख्नुपर्ने सामाजिक दायित्वका कारण हरेक वर्ष ठूलो घाटा हुने गरेको छ । यात्रु कम भएको थुप्रै मार्गमा पनि रेल चलाइराखिएको छ ।

यी सबै कुरालाई ध्यानमा राख्दै भारतको केन्द्र सरकारले रेलको विकासका लागि २०१५ मा १३७ करोड डलर लगानी गर्ने घोषणा गर्यो । यसलाई पाँच वर्षमा खर्च गरिसक्नु पर्नेछ ।

अगस्ट २०१४ मा भारत सरकारले भारतीय रेल निर्माण, रेखदेख र सञ्चालनका लागि प्रत्यक्ष विदेशी लगानीलाई पनि अनुमति दिएको थियो । डिसेम्बर २०१५ मा जापानले भारतसँग पहिलो उच्च गतिको रेलमार्ग बनाउने सम्झौता गर्यो, जसले मुम्बई र अहमदाबादलाई जोड्नेछ ।

चीनमा अहिले पश्चिमी र दक्षिणी भागमा उच्च गतिको रेल सञ्जाल निर्माण गरिँदै छ । यो अझै बढी खर्चिलो छ किनभने सो क्षेत्रमा जनसंख्या कम हुनुका साथै सहरहरुबीचको दूरी पनि बढी छ ।

विकसित र धनी देशहरुको समूह ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) का अनुसार २५० किलोमिटर प्रतिघण्टा गति भएको रेलको तुलनामा ३५० किलोमिटर गति भएको रेल र लिक निर्माणका लागि ९० प्रतिशत बढी खर्च लाग्छ ।

यस्तो अवस्थामा यो लगानीबाट प्राप्त हुने नाफा र नोक्सानको आँकलन गर्न आवश्यक छ । उच्च गतिको रेल वा राम्रो रेलको सपना सही तरिकाले तय भए मात्रै यसले सबैको भलाई गर्नेछ ।

(१ फेब्रुअरी २०१७ मा बिबिसी हिन्दीमा प्रकाशित)