☰ open Loading... 7 September 2024|  

सुदूरपश्चिममा लगानी दशक अभियान
  | २१ माघ २०७३, शुक्रबार १५:४८

ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ ।

यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ ।

गोष्ठीमा यस क्षेत्रमा रहेको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीलगायतका क्षेत्रमा भएका सम्भावनाका विषयमा छलफल हुनेछ । धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य सङ्घका कैलाली अध्यक्ष शङ्कर बोगटीले लगानी दशक सेमिनार ठूला व्यवसायीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षण गर्न फलदायी हुने विश्वास व्यक्त गरे ।

व्यवसायी दिनेशराज भण्डारीले पर्याप्त सम्भावना भएर पनि पूर्वाधारको अभावमा यस क्षेत्रमा अहिलेसम्म लगानी भित्रिन नसकेको बताए । सेमिनारमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष चण्डिराज ढकाल, महासङ्घा वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा, गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतको सहभागिता रहने बताइएको छ ।

सुदूरपश्चिममा लगानीमैत्री वातावरण नहुँदा ठूला उद्योग खुल्न सकेका छैनन् भने खुलेका कतिपय उद्योग पनि बन्द भएका छन् ।