सुर्खेत । प्रहरीले कुनै पनि अपराधिक कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्दा निष्पक्ष रुपमा कारवाहीमा बाधा पर्याउने फोन आउने गरेको खुलासा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गरेका छन् ।
मुलुकमा पछिल्लो पटक अपराधिक घटनाहरुको स्वरुप बदलिँदै गएको बताएका अर्यालले प्रहरीलाई बारम्बार ठुला व्यक्तिबाटै अनुसन्धान कार्यमा बाँधा पुर्याउने काम गर्न ‘अतिवाद’ शैलि प्रयोग भइरहनु दुखद् पक्ष भएकाे उल्लेख गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्न सुर्खेत आइपुगेको महानिरीक्षक अर्यालले हिरासतमा अनुसन्धानका लागि लिएको व्यक्तिलाई छोडिदिनु पर्यो भन्ने फोनले प्रहरी निष्पक्ष हुन नसकेको बताए । ‘२८ वर्षे प्रहरी सेवामा मलाई कसैले पनि घटनाको निष्पक्ष रुपमा छानविन गरिदिनुस् है भन्ने फोन आएन’ महानिरीक्षक अर्यालले भने,–‘थुनामा परेका हाम्रो व्यक्तिलाई छोडिदिनुस्, त्यो हाम्रो मान्छे हो भन्ने अभिव्यक्ति मात्रै आए ।’
प्रहरीले अनुसन्धानका लागि कसैलाई कानुनी दायरामा ल्याउँन खोज्दा निष्पक्ष छानविन गरिदिनुस् भनिदैन तवसम्म प्रहरीले कानुनी प्रत्याभूति दिलाउन नसक्ने उनको तर्क छ ।
‘अपराधिक गतिविधि फेरिँदै’
१० वर्ष र हाल नेपालमा भइरहेका अवराधिक गतिविधिहरूको स्वरुप बदलिएको महानिरीक्षक अर्यालको भनाई छ । परम्परागत भन्दा नयाँ घटनाहरुको स्वरुप बदलिएपछि सुरक्षा चुनौती थएिको उल्लेख गरेका आर्यालले आर्थिक, अन्तरदेशीय, अन्तराष्ट्र्रिय र विज्ञान प्रविधिका घटनाहरु संख्यात्मक र गुणात्मक रुपमा वृद्धि भएको जानकारी दिए ।
बदलिदो समय अनुसार प्रहरी संगठन परिवर्तन भएन भने यस्ता गतिविधिहरु रोक्न प्रहरीलाई समस्या आइलाग्ने उनको तर्क छ । उनले अपराधको स्वरुप जति बदलिए पनि प्रहरी संगठनलाई समय सापेक्ष बनाएर नागरिकलाई शान्तिको अनुभूति दिलाउन आफूहरु कटिवद्ध रहेको उल्लेख गरे ।
मुलुकमा प्रहरीले न्युन स्रोत साधनबाट नागरिकलाई सुरक्षाको दिइरहेकाले अझै यसलाई प्रभावकारी बनाउन राज्य सम्वेदनशील हुनु पर्ने तर्क उनको छ । ‘हामीले भाडाका घर, गुठी, जिर्ण भवनबाट नागरिकलाइ सुरक्षा दिइरहेकाे छ’ अर्यालले थपे,-‘भाैतिक र स्राेत साधनबाट पनि प्रहरी सक्षम हुन अावश्यक छ । त्यही अनुरूप केही ठाउँमा नयाँ भवन निर्माण सम्पन्न भएकाे र केही ठाउँमा प्रक्रियाकाे क्रममा रहेकाे छ ।’
‘नयाँ भवनबाट नयाँ सोचले सेवा दिनुस्’
झण्डै ४ कारोडको लागतमा निर्माण भएको सुर्खेत प्रहरीको भवनको उद्घाटन गरेका महानिरीक्षक अर्यालले नयाँ भवनमा नयाँ सोच राखेर पीडितलाई निष्पक्ष न्याय दिन मातहतका प्रहरीलाई निर्देशन दिए । ‘भवन फेरिएको छ, पात्र फेरिएलान तर पीडितले न्याय पाएनन् भने तीन पुस्तासम्म प्रहरीलाई सराप्ने छन्’ अर्यालले भने,–‘न्यायको ढोकामा आएको पीडितको घाउमा मलम लगाउन प्रहरी नागरिकप्रति जिम्मेवार हुन जारुरी छ ।’
‘अपराध रोक्न नागरिक सहकार्य आवश्यक’
सिंगो प्रहरी संगठनले मात्रै सुरक्षाको अनुभूति दिलाउन नसक्ने बताएका महानिरीक्षक अर्यालले अपराध नियन्त्रणमा नागरिककाे सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले हाम्रो प्रहरी भन्नु पहिला राम्रो प्रहरी बनाउन नागरिक जिम्मेवार हुन आवश्यक रहेको औंल्याए ।
प्रहरीले गरेका काम कारवाहीप्रति नागरिकले खवदारी र आलोचनात्मक भूमिका निर्वाह गरिदिन उनले आग्रह गरे । ‘प्रहरी एक व्यक्तिको पेवा हैन, आम नागरिकको प्रहरी संगठन हो’ अर्यालले थपे,–‘प्रहरीलाई सक्षम र अपराध नियन्त्रणमा समाजले अहम भूमिका निर्वाह गर्न आवश्यक छ ।’
अपराधमुक्त समाज कल्पना मात्रै भएको उल्लेख गरेका उनले भने,–‘समाजमा घटना गराउने अपराधिलाई भने कानुनी कठघरामा ल्याउन नागरिकले साथ दिन जरुरी छ ।’
नागरिकसंग सहकार्य गरेर प्रहरी अघि बढ्न तयार रहेको पनि उनको भनाई छ । हिरासतमा कुनै पनि व्यक्तिलाई राख्नु अगावै दशपटक सोच्न प्रहरीलाई निर्देशन दिए । हिरासतमा बस्नु भनेकाे व्यक्तिले जिन्दगीकाे भुल्नै नसकिने घटना भएकाे उल्लेख गरेका उनले घटनाकाे वास्तविकता बुझेर मात्रै अपराधीका नाममा निर्दाेशलाइ हिरासतमा राख्न अाग्रह गरे ।
तीन कराेड ७४ लाख ९१ हजारमा निर्माण भएकाे जिल्ला प्रहरी कार्यालयकाे नयाँ भवनमा सुविधा सम्पन्न हिरासत कक्ष, बन्दाेवस्तीका सामग्री कक्ष र अन्य विभिन्न कक्षहरू छन् । ०७१ साल मंसिरबाट साे भवनकाे निर्माण थालिएकाे थियाे ।