☰ open Loading... 19 April 2024|  

दुई सयले लिए अङ्गीकृत नागरिकता
  | २५ माघ २०७३, मंगलवार १४:२८

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।  नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए ।

उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय बाँकेले अघिल्लो आवमा एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो ।

नेपालीसँग विवाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइए पनि वास्तविकता उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारी बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ ।

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ ।  हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ ।

नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए । कार्यालयका अनुसार अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ ।