☰ open Loading... 17 July 2024|  

गाउँ विकासमा बाहिरबाट कामदार
  | २६ माघ २०७३, बुधबार ०९:३५

भेरीगंगा नगरपालिका १६ का मानबहादुर बुढाका तीन छोरा वैदेशिक रोजगारीका सिलासिलामा खाडीमा छन् । उनको आँगन छुँदै रिङरोड (चक्रपथ) ले साबिकको रामघाट गाविसलाई सडक सञ्जालमा जोडैछ । तर, ठेकेदारले स्थानीय कामदार नपाउँदा बर्दियादेखि झिकाउनुपर्‍यो ।

Surkhet-Sadak

‘आँगनमै सडक निर्माण हुँदै छ । यहाँ कामदार नपाएपछि ठेकेदारले बाहिरबाट ल्याउनुपर्‍यो,’ वडा नागरिक मञ्चका संयोजक दले थापाले भने, ‘हाम्रो समस्या भनेकै यही हो । योजना थुपै्र छन् । काम गर्ने मान्छे छैनन् ।’ भेरी–गंगा नपा १५ र १६ अन्तर्गतका टोल–बस्तीलाई यातायात सञ्जालमा जोड्न रिङरोड बनिरहेको छ । त्यहाँका सबैजसो घरका युवा बिदेसिएकाले स्थानीय कामदार पाउन मुस्किल परेको हो ।

मानबहादुरका तीन छोरामध्ये दुई साउदी अरब र एक मलेसियामा छन् । गाउँका सबै युवा बिदेसिएपछि आफूले पनि छोराहरूलाई पठाएको उनले बताए । ‘यहाँ उल्टो बिग्रिने खतरा हुने भएकाले विदेशतिरै पठाएँ’ मानबहादुरले भने, ‘यता काम पाइए पनि समय र पैसा अनावश्यक खर्च गर्ने चलन छ ।’ मानबहादुरजस्तै रामघाटमा विदेश नगएको घरधुरी पाउनै गाह्रो हुन्छ । यहाँका थुपै्र युवा नेपाल प्रहरी र सैनिक सेवामा छन् ।

बाँकी खाडी मुलुकमा छन् । वडा नागरिक मञ्चका अनुसार रामघाटबाट मात्रै अढाई सयभन्दा बढी युवा खाडी मुलुकमा छन् । त्यत्तिकै संख्यामा आर्मी–प्रहरीमा । पछिल्लो पुस्ताका युवायुवती पढाइको सिलसिलामा सहर–बजारमा छन् ।

दुई करोड ५२ लाख लागतमा निर्माण भइरहेको चक्रपथ क्रमागत योजना हो । श्याम नन्जिला हाम्रो निर्माण सेवाले स्थानीय कामदार नपाउँदा बर्दियाका थारू युवालाई ल्याएको छ । हाल ४० थारू युवाले सडक खन्ने, नाली, पर्खालको काम गरिरहेका छन् । निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र रानाले स्थानीय युवा जनशक्तिको कमीका कारण तराईबाट महँगो ज्यालामा कामदार ल्याउनुपरेको बाध्यता सुनाए । ‘स्थानीय कामदार राख्न चाहेको हो ।

खोजी पनि गरेको हो । पाइएन,’ उनले भने, जति बढी ज्याला पाए पनि आफ्नै गाउँमा काम गर्न युवा तयार हुँदैनन् । विदेश जाने त फेसनझैं भयो ।’ थारु युवा बिहानै उठ्ने, काममा दत्तचित्त भएर लाग्ने हुँदा उनीहरूसँग काम गर्न सहज भएको निर्माण कम्पनीको भनाइ छ ।

रामघाट चक्रपथमात्र होइन, जिल्लाका अधिकांश विकास निर्माणका योजनामा स्थानीय कामदार पाउनै सकिन्न । वैदेशिक रोजगारीका कारण भवन, सडक, खानेपानी निर्माणजस्ता योजनामा तराईबाट कामदार झिकाउनुपर्ने बाध्यता छ ।

जिल्लाका निर्माण व्यवसायीले युवा विदेश पलायनले ग्रामिण अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको बताएका छन् । उता, केही ठेकेदारले स्थानीय कामदारमा अल्छिपना, काम छल्ने प्रवृत्ति भएकाले बाहिरबाट ल्याउनुपरेको बताए ।

निर्माण व्यवसायी कमल थापा वैदेशिक रोजगारीले स्थानीय युवाको बानी बिगारेको बताउँछन् । ‘कतिपयको उता (खाडी मुलुक) को भन्दा यता राम्रो ज्याला हुन्छ । त्यति हुँदा पनि काम गर्ने मनस्थिति हुँदैन्’ उनले भने, ‘कुनै गाउँमा त यति धेरै बजेट छ कि कामदार नभएर योजना नै प्रभावित भएका छन् ।’