कोल्टी ३ का वसन्त रेग्मीको परिवार वर्षौंदेखि दोहोरो तनावमा छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीले उनका बुबाको हत्या गरे । बुबाको टाउकाको खप्पर अहिले पनि दराजमै थन्क्याइएको छ । न्याय तथा छानबिन प्रक्रियाको पनि अत्तोपत्तो नहुँदा परिवार दोहोरो तनाव झेलिरहेको छ ।
श्रीमान्को हत्या घटनामा न्याय पाउने आसले वसन्तकी आमा शान्ताले गएको जेठ २० गते सदरमुकाम मार्तडी आएर स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरिन् । समितिमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी संकलन गरेकाले परिवारलाई न्याय पाउने आस जागेको थियो ।
तर, उजुरीपछि अहिलेसम्म छानबिन तथा न्याय प्रक्रियाको कुनै अत्तोपत्तो नभएपछि परिवारलाई दिक्क लाग्न थालेको छ । ‘एक न एक चोटी भगवान्ले पनि न्याय देलान् भनेको हेरांै के हुन्छ,’ छोरा वसन्तले भने । अघिपछि घटनाबारे बोल्न नचाहने रेग्मी परिवारलाई तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरेर पीडितले न्याय पाउने खबरले मन बलियो बनाएको थियो ।
शान्ताका श्रीमान् ४० वर्षीय ताराचन्द्रलाई तत्कालीन माओवादी कार्यकर्ताले २०६० फागुन २३ गते कुल्देवमाण्डौंको मौरेबाट नियन्त्रणमा लिएर हत्या गरेका थिए । उनी एमाले जिल्ला उपसचिव थिए ।
एमालेले आफ्नो पार्टी कार्यालयको दराजमा वर्षांैदेखि मृतक रेग्मीको खप्पर थन्काएकै छ । चन्दा नदिएको, कोल्टीमा सेना राख्न लगाएको लगायत आरोप लगाइएका रेग्मीलाई ०६० चैत १२ गते सफाया गरेको माओवादी विज्ञप्ति सार्वजनिक भएपछि रेग्मी परिवारमा वज्रपात पर्यो । घटना हुने बेला ताराचन्द्र एमाले बाजुराका उपसचिव थिए । परिवारले केही दिनसम्म शवको आस गरे पनि पाउने सम्भावना देखेनन् । अन्ततस् परिवारजनले सामाजिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरे ।
हत्याको चार वर्षपछि हाल एमाले बैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका सांसद कर्ण थापाले मृतकको चिहान खनेर खप्पर सदरमुकाम ल्याए । काजकिरिया गरिसकेका परिवारलाई पार्टीकै नेताले खप्पर ल्याएपछि अन्योल भयो । अहिलसम्म त्यो अन्योल कायमै छ । दुईपटक काजकिरिया गर्न नहुने सामाजिक परम्पराका कारण परिवारले कंकाल बुझ्न मानेनन् । ८ वर्षदेखि पार्टी कार्यालयको दराजभित्रै खप्पर थन्क्याइएको छ । ‘राज्यले न्याय दिनुपर्छ,’ सांसद थापा भन्छन्, ‘राज्यले पीडितको धैर्यको ख्याल गर्न नसके दुर्घटना हुन सक्छ ।’
जिल्ला तहका एमाले कार्यकर्ताहरू उक्त खप्परलाई के गर्ने भन्ने अन्योलमै रहेकाले त्यसबारे सवाल उठाउँदैनन् । ‘के गरी विसर्जन गर्ने भन्ने निर्णय भएको छैन,’ एमाले बाजुराका उपसचिव गगन रावलले भने, ‘परिवारको अहिलेसम्म इच्छा घटनाको छानबिन र दोषीमाथि कारबाही हुनुपर्छ भन्ने हो । खप्परको विसर्जन पनि परिवारकै इच्छाअनुसार गर्छौं ।’ मृतक रेग्मीका छोरा वसन्त भने न्यायका लागि अब एमाले केन्द्रले सरोकार राख्नुपर्ने बताउँछन् ।
कसरी ल्याइएको थियो खप्पर ?
कार्यकर्तामा आफ्ना उपसचिव ताराचन्द्रको नृसंश हत्या गरिएको आक्रोश थियो । छतारासँग जोडिएको अछामको ऋषिदहमा नियन्त्रणमा राखेका उनलाई दगुर्न लगाई गोली हानेको चर्चा थियो । ‘गोलीले मृत्यु नभएपछि टाउकामा ढुंगाले किचेर हत्या गरेका हुन्,’ एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले भने ।
द्वन्द्वकालमा छतारालाई माओवादीले अछाम बाजुराको केन्द्रका रूपमा उपयोग गरेको थियो । दोस्रो जनआन्दोलनको सफलता र शान्ति प्रक्रिया सुरु भएपछि एमाले सचिव रहेका थापा ०६३ मा पार्टी कार्यक्रमका क्रममा त्यही छतारा गाविसमा पुगे । त्यहाँ थापाले रेग्मी हत्याको घटना सम्झे । एकाएक उनका मनमा रेग्मीको चिहान खोज्नुपर्ने विचार आयो ।
स्थानीयको सहयोग लिएर शव गाडिएको स्थान पुगे । एकिन भएपछि अन्य पार्टी कार्यकर्ताको सहयोगमा आफैंले चिहान खोतले । एमाले कार्यकर्ता रामबहादुर बानियाँले भने, ‘खोतल्दै जाँदा अस्थिपञ्जरका साथ शान्ति र प्रजातन्त्रका लागि जनअभियान लेखिएको कपडासमेत भेटियो । त्यही खप्पर बोकेर मार्तडी फर्कियौं ।’
इकान्तिपुर