☰ open Loading... 26 July 2024|  

बैतडी ट्रक दुर्घटनामा एकजनाको मृत्यु
  | २८ माघ २०७३, शुक्रबार ०९:४७

बैतडी । बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिए।
गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइते चालक मोहनको आँखा, निधार र छातीमा तथा सागरको टाउको, आँखा र खुट्टामा चोट रहेको छ । घाइते तीनैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।
महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस