☰ open Loading... 26 November 2024|  

सीटीहल निर्माणमा अन्यौलता
  | ४ फाल्गुन २०७३, बुधबार ०६:३८

सुर्खेत  । सम्भावित प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरमा सीटीहल निर्माण कार्यले अझै तिव्रता पाएको छैन् । जिल्लाबाट ठेक्का प्रक्रिया भई शहरी भवन डिभिजनमा गएपनि हालसम्म विभागले टेण्डर स्वीकृत नगर्दा निर्माण कार्य अन्यौलमै रहेको छ ।  

लामो समयसम्म ठेक्का प्रक्रियामालाई विभागले स्वीकृत नगर्दा सीटीहल निर्माणकार्य हुने वा नहुने अवस्थामा छ । शहरी भवन डिभिजनका कार्यालयका इन्जिनियर झंकबहादुर थापाका अनुसार सीटी हलको टेण्टर भएर विभागमा गई सकेको र अहिलेसम्म विभागले स्वीकृत गरेको छैन् ।

चालु आर्थिक वर्ष भित्रै टेण्टर स्वीकृत हुने र आगामी चैत्र मसान्तबाट निर्माण कार्य थालनी गरिने ईन्जिनियर थापाको छ । वीरेन्द्रनगर नगरपालिकाको आँखा अस्पताल नजिककै करिव ४० रोपनी जग्गामा सो हल निर्माण हुनेछ । सिटी हल निर्माणको लागि आवश्यक सबै विवरण डिभिजन भवन कार्यालय सुर्खेतले तयार गरेको थियो । तर संकलन भएका विवरणहरु मध्य केही छुटेको हुन सक्ने भन्दै पुनः अध्ययन गरी ठेक्का स्वीकृत गरिएको कार्यालय सूचना अधिकारी समेत रहेका ईन्जिनियर थापाले बताउँछन ।

‘अल्पकालिनभन्दा दिर्घकालिन विकासमा ध्यान दिएका छौं’ प्रमुख श्रेष्ठले भन्छन्,–‘प्रान्तीय राजधानीको सम्भावना भएकाले पनि नमूना सिटीहल निर्माण गर्न एक–एक गरी अध्ययन कार्य सम्पन्न गरि ठेक्का स्वीकृतका लागि विभागमा पठाएका छौँ ।’ सुर्खेतमा बन्ने सिटी हल काठमाण्डौ पछिको नमूना हल हो । पाँचसय बढी अट्ने क्षमता यो हलको लागत मात्रै करिव २७ करोड हुने डिभिजन भवन सुर्खेतको भनाई छ ।
कार्यालयले कसरी र कति चरणमा काम गर्दा छिटो निर्माण हुनेछ भन्ने रणनीतिमा जुटेपनि देखिने गरी हालसम्म कुनै उपलव्धी हुन सकेको छैन । कार्यालयका प्रमुख ठेक्का स्वीकृत गराउनका लागि मन्त्रालय पटक पटक धाउने गरेका छन । आशा लाग्दो नतिजा भने विभागले हालसम्म दिएको छैन् ।

विगतमा थुप्रै भवन अपूरै छोडेर निर्माण कम्पनी फरार हुने प्रवृत्तीदेखि आजित भएको विभागले टेण्डर स्वीकृत नगरेको स्रोतले बताउँछ । स्थानीय ठेकेदारले सिटीहलको निर्माण जिम्मा लिए काम गर्न नसक्ने राय ईन्जिनियरको छ । ‘यो प्राविधिक रुपमा कठिन र जटिल कार्य हो’ ति इन्जिनियर भन्छन,–‘भौतिक निर्माणदेखि हलभित्रको साउण्ड र आवाज व्यवस्थापन गर्ने सामग्री जुटाउन स्थानीय निर्माण व्यवसायीलाई कठिन हुने देख्छु ।’

कार्यालयले एकै चरणमा सिटीहलको काम सम्पन्न गर्ने या दुई चरणमा निर्माण सम्पन्न गर्ने भन्नेबारेमा अहिलसम्म टुङ्गो लगाएको छैन् । कार्यालयले सिटीहलको लागतसहित सम्पूर्ण विवरण शहरी विकास तथा भवन निर्माण विभागमा पठाउने छ ।

आवश्यक बजेट पहिलो चरणमा सरकारले उपलव्ध गराए करिब तीन देखी पाँच वर्षमा सुविधासम्पन्न सिटीहल तयार हुनेछ । सुर्खेत सिटीहल विहीन छ । कुनै सार्वजनिक समारोह गर्दा पानी र हावाहुरीले आयोजकलाई सास्ती हुने गरेको छ । सिटीहल निर्माण भएपछि सार्वजनिक समारोहका कार्यक्रम खुला चौरमा गर्नु पर्ने बाँध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।