☰ open Loading... 29 September 2025|  

सुर्खेतमा थपिदै ‘सुपर फास्ट यातायात’
  | ५ फाल्गुन २०७३, बिहीबार ०८:००

सुर्खेत । सुर्खेतमा नयाँ सुपर फास्ट यातायात प्राईवेट लिमिटेड सञ्चालनमा आउने भएको छ । छिन्चुमा मुख्य कार्यालय रहेको सुपर फास्ट यातायात प्रालिले शुक्रबारदेखि आफ्नो सेवा शुरु गर्न लागेको बताएको छ । करिब सवा पाँच करोड लगानीका साथ यातायात क्षेत्रमा आएको प्रालिले पहिलो चरणमा जाजरकोट–सुर्खेत–नेपालगञ्ज सेवा शुरु गर्न लागेको छ ।

‘सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो यातायात सेवा दिन सुर्खेतमा पहिलो पटक सुपर फास्ट यातायात सेवा ल्याउन लागेका छौं,’ प्रालिका अध्यक्ष बलबहादुर वलीले भने, ‘फागुन ६ गतेदेखि पहिलो चरणमा २६ वटा भ्यानबाट आफ्नो सेवा जाजरकोट–सुर्खेत–नेपालगञ्ज शुरु गर्दैछौं ।’

उनले करिब सवा पाँच करोड लगानीका ती सवारी साधानमा हिटर, कुलरसँगै जीपीएल सिष्टम, एलसीडी मनिटर लगायतका सुविधाहरु रहेको जनाए । उनका अनुसार प्रालिले दोस्रो चरणमा नयाँ थप सवारी साधानका साथ दैलेख, कालिकोट, रुकुम, सल्यान र दाङमा सेवा विस्तार गरिने  छ ।

‘यात्रुलाई सर्वसुलभ सुरक्षित सेवा दिनैका लागि सुपर फास्ट यातायात प्रालि दर्ता गरेका हौं,’ अध्यक्ष वलीले भने, ‘स्वच्छ प्रतिस्पर्धालाई आत्मसात गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं ।’

उनले सबै सवारीमा जेष्ठ, नागरिक, महिला, बालबालिका, अपाङ्ग तथा असक्तलाई विशेष सीटको व्यवस्था राखिएको जानकारी दिए । सुर्खेतमा सुपरफास्ट प्रालिसँगै यातायात संस्थाको संख्या दर्जन पुगेको छ ।