☰ open Loading... 27 April 2024|  

वीरेन्द्रनगरको मेयरमा कस्ले बाजी मार्ला !
  | ६ फाल्गुन २०७३, शुक्रबार ०८:१०

सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै सुर्खेतमा यसको सरगर्गी बढ्न थालेको छ । विभिन्न टोलका चिया पसलहरुका  जमघटहरुमा अब कसले चुनाव जित्ला आकल र अनुमान एवं टिकाटिप्पणी सुरु भईसकेको छ ।

मुख्यतया प्रमुख तीन दल नेपाल कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुन सक्ने त्रिपक्षीय भिडन्तमा कसले बाजी मार्ने हो, त्यो त चुनाव सम्पन्न  भईसकेपछि आउने परिणामले निश्चित गर्ने छ । तै पनि राजनीतिक पण्डितहरु र सर्वसाधारणहरुले आ–आफ्नो लख काट्ने गरेका छन् ।

२०४६ सालको परिवर्तन पछि नेपालमा भएका २ वटै स्थानीय निकायको चुनावमा वीरेन्द्रनगरमा कब्जा जमाएको नेकपा एमाले २०७० को दोश्रो संविधानसभाको चुनाव पछि थला परेको अवस्थामा छ । स्पष्ट दुई गुठमा विभाजित एमाले सुर्खेत उम्मेदवारी घोषणा हुनु अघि नै दुइ धारमा विभाजित हुनेछ । यस भन्दा अघिको सबै चुनावमा केहि झिनामसिना विवाद बाहेक एकमत र चित्तले चुनावमा होमिने गरेको एमाले केन्द्रीय गुठका साथै जिल्लामा यामलाल कंडेल पक्ष र गैर यामलाल पक्षमा विभाजित बन्नेछ ।

हालको वीरेन्द्रनगरको वडा १ देखि १२ सम्मको पुरानो संरचनामा यामलाल कंडेलको पक्षमा बहुमत कार्यकर्ताहरु देखिएतापनि लाटिकोइली र उत्तरगंगा गाविसमा उनी इतर पक्षको समेत राम्रै उपस्थिति रहेको पाइन्छ । अन्य थपिएका गढी, रतु, जर्वुटा लगायतका गाविसहरुमा भने कंडेल इतरका कार्यकर्ताहरुको कम मात्रै उपस्थिती रहेको देखिन्छ ।

उम्मेदवारको घोषणा गर्दा वीरेन्द्रनगरको मेयरको रुपमा झुप्रा बहृत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाको नाम अग्र पङ्तीमा देखिएता पनि उनको टीम भित्रका पूर्णप्रसाद पौडेल, ऋषि गिरी, नगर कमिटीका अध्यक्ष निलकण्ठ खनाल, हरिहरनाथ योगी, अधिवक्ता कृष्णबहादुर हमाल, कुलदीप भट्ट, महेन्द्र शर्मा डिलाराम गिरी, व्यवसायी विष्णुबहादुर शाही, गणेश वली लगायतलाई पन्छाउनु चानचुने विषय नहुन सक्छ । महिलाको नेतृत्व गर्दै मध्यमार्गी फरक धारको  नेतृत्व गरेकी मोहनमाया ढकालको दावीमा एमाले सुर्खेतको नेतृत्व सकारात्मक बनिदिन सक्छ भन्ने २०७० को विद्रोही शक्तिका एक कमाण्डर अमृतकुमार विसी केदार कंडेल, खगेन्द्र पोखरेल समेत मेयरको दावेदारीमा दस्तखत गर्न सक्छन ।

दुवै स्थानीय निकायको चुनाव मात्र द्वन्दले गुमाएको कांगे्रस यसपटक कसरी सम्हालिएर निर्वाचनमा होमिन्छ, त्यो सबैको चासोको विषय बनेको छ ।  बलियो जनमत हँुदाहुँदै पनि हार्ने गरेको कांगे्रसमा यसपटक पनि सहज वातावरण बन्न सकिरहेको छैन । थानी र खड्का दुवै केन्द्रीय सदस्य र सांसद बनेको कांग्रेसमा व्यक्तित्वको टक्कर र अन्तर्घात  कुन हदसम्मको हुने हो, यसैमा कांगे्रसले जित्ने वा हार्ने निर्धारण हुनेछ ।

कांग्रेस युवा पुस्ता माँझ लोकप्रिय कांगे्रस नगर सभापति देवकुमार सुवेदी मेयर पदका स्वभाविक एवं प्रमुख दावेदार हुन । तैपनि उनकै खेमाबाट बहुल क्षेत्र अंगालेका चन्द्रप्रसाद थानीलाई पनि टिकटको कम दावेदार मान्न सकिदैन । पारिवारिक घेरामा पर्दा हृदयराम थानीको हात चन्द्रप्रसाद थानी माथि पनि पर्न सक्दछ । यसैगरी संचार क्षेत्रबाट राजनीतिमा उदाएका नारायण कोइराला, शिवप्रसाद गौतम, पुराना त्यागी नेता डम्बर बिसी, बालदीप कंडेल, व्यवसायी श्याम भारती समेत टिकटको दौडधुपमा अग्र स्थानमा आउन सक्छन ।

अर्को पक्षबाट भर्खरै शिक्षण पेशा छोडेका पुर्व नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले मेयरका लागि केहि महिना अघि देखि नै प्रचार शुरु गरिसकेका छन् । लाटिकोइली गाविसमा पछिल्लो समय कांग्रेसको संगठन मजवुत बनाएका रविन्द्रजंग शाही, वर्षौ हृदयराम थानीसंग भिड्दै आएका शिक्षक राजनीतिज्ञ नारायण सापकोटाले समेत टिकटमा दह्रो दावेदारी पेश गर्न सक्दछन । २०४९ सालको चुनावमा मेयरको पदका घाइते पराजित कालिप्रसाद शाक्यको नाममा कांगे्रसले एकपटक फेरी जुवा खेल्न सक्दछ भने नेपाल महिला संघको केन्द्रीय राजनीतिमा रहेकी जानकी सिंहको समेत मेयर पदमा प्रबल दावेदारी रहन सक्दछ ।

देशैभर केही कमजोर संगठन देखिएतापनि सुर्खेत माओवादी केन्द्रका पछिल्ला  भेलाहरुमा जन आकर्षण बढ्दै गईरहेको छ । कांग्रेस एमाले भन्दा कम विवाद रहेको माओवादी केन्द्रको उम्मेदवार तय भै नसकेतापनि माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष गंगाराम तिमेल्सेना स्वभाविक दावेदारको रुपमा देखिएका छन् । यस बाहेक दानसिं सुनार, गणेश भण्डारी, डिल्ली सुवेदी, रत्न गाहा, हरिमाया शर्मा, विष्णुप्रसाद बराल, देवजंग शाही समेत  चुनावी टिकटका अग्र मोर्चाका दावेदारहरु रहेका छन् ।

जेसुकै भएतापनि स्थानीय निकायको निर्वाचनमा मेयर पदमा मुख्य ठुला दुई दलमा गहिरो विभाजनको रेखा कम गर्न र समान हैसियत भएकाहरु बीच हुने अस्वस्थ एवं घात प्रतिघातको राजनीतिलाई कम गर्न कांग्रेसबाट पार्टी सभापति कमलराज रेग्मी र एमालेबाट केन्द्रीय अनुशासन आयोगका सदस्य बालाराम शर्मासम्म पुग्न समेत बेर छैन ।