☰ open Loading... 26 April 2024|  

प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द
  | ६ फाल्गुन २०७३, शुक्रबार १८:४२

पत्रकार सम्मेलनमा बोल्दै समिति अध्यक्ष बलराम श्रेष्ठ ।

खानेपानीको नयाँ पाईप विछ्याउने काममा खटिएका दैलेख बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई प्रहरीले विहिवार राती कुटेको विरोधमा खानेपानी वितरण बन्द गरिने जनाईएको छ ।

समितिका अध्यक्ष बलराम श्रेष्ठ, कोषाध्यक्ष भरतराज थापा, मर्मत सम्भार कार्यकर्ता टेकबहादुर खत्रीलाई गस्तीमा आएका ४ जना प्रहरीले लाठी र लातले कुटेको जनाईएको छ । समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी कुटपिट गर्नेहरुलाई कार्वाही नभएसम्म खानेपानी वितरण रोक्ने जनाएका हुन् ।

दोस्रो साना खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत नारायण नगर खानेपानी तथा सरसफाई आयोजनाको पाईप लाईन विछ्याउने कार्यमा दुई हप्तादेखी सदरमुकाममा भईरहेको छ । बजारमा खानेपानी अभाव हुन नदिन समितिका पदाधिकारीहरु रातदिन खटिएर काम गरिरहेका छन् । तर, रातीमा काम गरिरहेका पदाधिकारीहरुलाई समेत प्रहरीले योजनावद्ध रुपमा कुटेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । आफुहरुले पानीको लाईन टेस्ट गर्न लागेको बताएपनि पशुसरह कुटियो ।

अध्यक्ष श्रेष्ठले भने, रातीमा बजारमा के गरेको भन्दै कुरै नसुनी कुट्दै प्रहरी कार्यालयमा लगियो । उनले प्रहरीले जानजाती आफुमाथि आक्रमणको योजना बनाएको दावी गरे । प्रहरीभित्रै लगेर पनि आफुमाथि निर्घात कुटियो उनले पत्रकारसंग दुखेसो गदै भने, सदरमुकामबासीलाई खानेपानीको अभाव हुन नदिन रातदिन खटिदा समेत आफुमाथि अन्याय भयो ।

प्रहरीबाट कुटिएका खानेपानी समितिका पदाधिकारीहरुको टाउको, हात र शरिरमा चोट लागेको छ । त्यही प्रहरी टोलीले खानेपानी तथा सरसफाई डिभिजनका डाईभर शंकर भटराईलाई पनि कुटपिट गरेको जनाईएको छ । दुई दिन यता त्यही प्रहरी टोलीले होटलहरुमा प्रवेश गरेर स्थानीयहरुलाई सताउने गरेको स्थानीय गणेश थापाले बताए । दैलेख प्रहरी प्रमुख (डिएसपी) केदार रजौरेले होहल्ला भएकाले प्रहरीले सोधपुछका लागि ल्याउदा धकेलपकेल मात्र भएको प्रतिक्रिया दिए ।