☰ open Loading... 25 April 2024|  

सिडिओ कार्यालय मौनहुँदा, मनपरी भाडा अशुल्दै अटो रिक्सा
  | १० फाल्गुन २०७३, मंगलवार ०८:२८

सुर्खेत । कालीकोटदेखि उपचारका लागि उसमान नेपाली गत बिहिबार वीरेन्द्रनगर आइपुगे । अन्य कामका लागि सुर्खेत पटक–पटक आइरहने उनी यो पटक भने उपचारका लागि आएका थिए ।    उसमानलाई मध्यपश्चिमाञ्चल  क्षेत्रिय अस्पतालम कालागाउँमा उपचार गर्न जानु पर्ने थियो ।

हिडेर जान सहज नभएपछि कसरी जानेहोला भन्ने चिन्ता बसबाट झर्नु अगावै उनमा थियो । यति मात्र हैन क्षेत्रीय अस्पताल पुग्न कुन रुट सहज हुन्छ भन्ने जानकारी पनि थिएन् । उनी सिधै कालीकोटबाट वीरेन्द्रनगरको मंगलगढी चौकमा आर्लिए । उसमान बसबाट झर्न वित्तिकै अस्पताल जानु थियो । उनी बसबाट झर्न नपाउँदै एक अटो रिक्सा चालकले भने,–‘बाजे कहाँ जाने हो ?’ उनको जवाफ थियो, ‘म क्षेत्रीय अस्पताल जाने हो ।’

उनलाई हतार हतारमा क्षेत्रीय अस्पताल जानु पर्ने थियो । अटो रिक्शा चालकले म पु¥याइ दिन्छु, बनेपछि उसमानले भाडा सोधे तर अटोरिक्सा चालकले झर्दा मिलाएर दिनुहाला जाउँ भनेपछि त्यही रिक्सामा उनी अस्पताल पुगे । जव उनी क्षेत्रीय अस्पतालमा पुगे रिक्सा चालकले मागेको तीनसय भाडा मागेपछि अचम्मित भए । उपचारपछि क्षेत्रीय अस्पतालको गेटमा भेटीएका उसमानले भने,–‘शहरमा सुविधा हुन्छ, गाउँकाले राम्रो सेवा सुविधा पाउँछन भन्थे तर यहाँ अटो रिक्साले लुट्दा रैछन् ।’ उनी बजार फर्किदा ५० रुपैयाँ भाडा दिएर अर्को अटो रिक्सामा फर्किए ।

उजूरीको पर्खाइमा प्रशासन

यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले हालसम्म कार्यालयमा कसैले पनि उजूरी नदिएकाले अनुगमन नगरिएको प्रतिक्रिया दिएको छ । जिल्लामाका संचालन गरिएको होटेल उद्योग, कलकारखाना, यातायात व्यवसाय लगायतको अनुगमन गर्ने जिम्मा पाएको प्रशासनले उजूरी आए मात्रै अनुगमनमा जाने जवाफ दियो । उपभोक्ताहरुले उजूरी दिएमा मात्र अनुमगन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको तर्क छ । उनले कुन अटो व्यवसायीहरुले कति भाडा लिन्छ भन्ने जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताए ।
  तर उनले यो जिल्ला प्रशासनको विषय भन्दा यातायात व्यवसायीले  कहाँदेखि कहाँसम्म, कति वर्षदेखि कति वर्षको उम्मेर समूहबाट कति भाडा लिने भनि निर्धारण गर्ने दायित्व उनीहरुमै रहेको जवाफ दिए ।
  अटोरिक्सामा सवार स्वंयम यात्रुले नै चढ्नुभन्दा पहिला भाडामा बहस गर्न सुझाव सहायक प्रमुख जिल्ला अधिकारी गौतमको छ । तोकिएको भाडाभन्दा बढी भाडा लिएमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए कारवाही गरिने जानकारी दिए ।   यातायात व्यवसायी  संघ र यातायात कार्यालयसंग बसेर यस भाडाको विषयमा छलफल पनि गरिने जिकिर उनको छ ।

बर्दियाकी सुदिक्षा चौधरी वीरेन्द्रनगरको भैरवस्थानबाट नेताचौकसम्म अटो रिक्सामा आईन् । उनी सवार अटो रिक्सा चालकलाई सोधिन नेता चौकसम्मको भाडा कति हो ? जवाफमा चालकले भने,–‘झर्दा मिलाएर दिनुहोला, प्रतिस्पर्धाको समयमा त्यति मंहगो छैन् नी हजूर ।’ जव सुदिक्षा नेताचौकमा झरिन उनीबाट अटो रिक्सा चालकले दुई सय रुपैयाँ अशुल्यो ।

सुदिक्षाले यस्तो कहाँ हुन्छ भन्दा प्रतिवाद गर्दा चालकले नमानेपछि बाध्य भएर भाडा बुझाईन् । उनले भनिन्,–‘नागरिकको सहजताको लागि अटो रिक्सा भित्रिनु राम्रो हो, तर उनीहरुको मनपरी ठिक हैन्, साच्चै उनीहरुको दादागिरी रहेछ ।’   उल्लेखीत पात्र प्रतिनीधि मात्रै हुन् । वीरेन्द्रनगरमा यसरी दैनिक नागरिकहरु  चर्को भाडा दिएर आवातजावत गर्न विवश छन् । तर स्थानीय प्रशासन मुकदर्शक बनेको छ ।

वीरेन्द्रनगरमा हाल झण्डै २ सय अटो रिक्सा रहेको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय सुर्खेतसंग छ । अटो रिक्साको भाडा दरमा भने एकरुपता नहुँदा स्थानीय ठगीएको गुनासो स्थानीय गोविन्द थापाको छ । स्थानीय प्रशासनले कम्तिमा सवै अटो व्यवसायीसंग बसेर वीरेन्द्रनगरका सवै ठाउँमा पुग्ने भाडादर तोकेको भए स्थानीयलाई सहजता हुने तर्क राखे ।

स्थानीय प्रशासनको यो विषयमा गम्भीर भएकै कारण आफूहरु मर्कामा परेको गुनासो नागरिकहरुको छ । अटो व्यवसायीहरुले मनपरी रुपमा भाडा किन लिन्छ भन्ने विषयमा बुझ्न खोज्दा ६ नम्बर प्रदेश अटोव्यवसायी संघका अध्यक्ष सुरेश गुरुङ्ग सम्पर्कमा आउन चाहेनन् । मंगलगढी चौकदेखि कालागाउँ, गणेशचौक, ईत्राम, लाटीकोईली, तातापानी लगायतका स्थानमा जाँदा अटो व्यवसायीहरुले मनोमानी भाडा अशुल्ने गरेको स्थानीय बताउँछन् ।