नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालका करिब सात वर्ष पीए बसेर संविधानसभाको दोस्रो निर्वाचनको मुखमा माओवादी बन्दै पछिल्लो समयमा डा। बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, नेपालमा आवद्ध भएका भक्तपुरका निर्मल भट्टराई अहिले डा। भट्टराईका निम्ति घाँडो भएका छन् । पछिल्लो समय डा। भट्टराईले गर्ने हरेकजसो निर्णयको विरोध गर्नमा नै निर्मलले समय र सीप खर्च गर्न थालेपछि उनी किन यस पार्टीमा लागेका रहेछन् भनेर नयाँ पार्टीमा चर्चा भइरहेको छ ।
केही दिनअघि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि गत बुधबार संघीय समाजवादी फोरमसँग सहकार्य गरिरहेका डा। भट्टराईले निर्वाचन रोक्न संयुक्त विज्ञप्ति जारी गरे । सबैलाई थाहै छ, पार्टीले आकार नै ग्रहण गरिनसकेकाले अहिले नयाँ शक्तिका लागि चुनाव रुचिको कुरा होइन । तर, डा। भट्टराईले विज्ञप्ति निकालेपछि तिनै निर्मल भट्टराईले चाहिँ नयाँ शक्तिका अरु आठ जना केन्द्रीय परिषद् सदस्यलाई लिएर निर्मलले विरोधमा विज्ञप्ति निकाले ।
निर्मलगायत नौ जना परिषद् सदस्यले निकालेको वक्तव्यमा ‘नयाँ शक्ति पार्टी नै चुनाव विरोधी देखाउने गरी आएको सो वक्तव्यमा सही गर्ने आफ्नो एकल निर्णय तत्काल फिर्ता गर्न’ डा। भट्टराईलाई आव्हान गरेका छन् । निर्वाचन रोक्न माग गर्ने डा। भट्टराईको निर्णयलाई स्वेच्छाचारी घोषणा गर्दै भट्टराईसहितका केन्द्रीय परिषद्का सदस्यहरुले परिषद्को बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी निर्णय गरेर मात्र अघि बढ्न पनि आव्हान गरिएको छ । सो वक्तव्यमा भट्टराईका साथै मोहन वम, देव लिम्वु, हरिराम नेपाल, चन्द्रदेव ओझा, युवि घिमिरे, सहदेव न्यौपाने, अशोकराज ढुंगेल र मुनिन्द्र बस्नेत छन् ।
त्यसो त डा। भट्टराईका निम्ति निर्मल अहिले मात्र होइन, यसअघि पनि पटक–पटक घाँडो बन्दै आएका छन् । केही समयअघि डा। भट्टराईले टोपी दिवसका अवसरमा ट्विटरमा लेख्दा निर्मलले लेख लेखेरै विरोध जनाएका थिए ।
निर्मलले डा। भट्टराईलाई दुःख दिन यति मात्र गरेका छैनन् । डा। भट्टराईका अत्यन्त विश्वासिला पात्र गंगा श्रेष्ठलाई जत्तिकै आफूलाई पनि पार्टीभित्र हैसियत दिनुपर्ने कुरा निर्मलले उठाउने गरेको बताइन्छ । डा। भट्टराईलाई भेट्दा निर्मलले ‘गंगा पनि प्रधानमन्त्रीको स्वकीय भएका हुन्, म पनि प्रधानमन्त्रीको स्वकीय सचिव भइसकेको मान्छे हुँ । मलाई पनि गंगालाई झैं जिम्मेवारी दिनुपर्छ’ भन्ने माग गरेका छन् । गंगा केन्द्रीय कार्यकारी समितिमा छन् भने निर्मल भने परिषद्मा मात्र छन् ।
निर्मलले आफूलाई प्रधानमन्त्रीको स्वकीय सचिव भइसकेको बताएर डा। भट्टराईसँग वार्गेनिङ गर्ने गरेका भए पनि पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी भने दिएका थिएनन् । तत्कालीन प्रधानमन्त्री खनालले ०४७ सालमा अन्तरिम सरकारको बेला मन्त्री हुँदादेखि नै पीए राखेका दीपकचन्द्र अमात्यलाई आफ्नो प्रधानमन्त्रीत्वकालमा प्रमुख स्वकीय सचिव बनाएका थिए ।
पार्टी कार्यालयमा रहँदा पीए रहेका निर्मललाई भने जनसम्पर्क सल्लाहकारमा थन्काएका थिए । ०६५ सालमा खनाल एमालेको महासचिव बनेपछि निर्मल कार्यालयमा पीए थिए । पछिल्लो समय खनालसँग मोहभंग भएपछि चुनावको मुखमा माओवादी प्रवेश गरेका निर्मल अहिले नयाँ शक्तिमा लागेर त्यसलाई बद्नाम गर्न लागेको भन्दै उनीमाथि कारवाहीको माग गरिएको छ ।
अहिले केन्द्रीय परिषद्मा रहेका भट्टराईले आफूलाई ९९ सदस्यीय केन्द्रीय कार्यकारी समितिमा पार्न निकै प्रयत्न गरेका थिए । मुमाराम खनालले पार्टी छाडेपछि र ऋषभदेव भट्ट र सोनाम छिरिङ लामालाई कारबाही गरेर निस्कासन गरेपछि रिक्त रहेको कार्यकारी समितिमा आफूलाई पार्न लविङ गरेपछि डा। भट्टराईले उनको अनुरोधलाई नस्वीकारेको बताइन्छ । त्यही कारण अहिले निर्मल एकपछि अर्को गर्दै डा। भट्टराईका निर्णयका विरुद्धमा उभिँदै आएका छन् ।
एमाले रहँदा भक्तपुरमा गाईपालनका नाममा एमालेकै कार्यकर्ताको पैसा डुबाएर समस्यामा परेका निर्मललाई भक्तपुरको राजनीतिमा महेश बस्नेतले किनारा लगाएपछि माओवादीमा प्रवेश गरेका थिए ।
पहिलाे न्युज