☰ open Loading... 5 November 2024|  

३० बुँदे सुर्खेत घोषणापत्र
  | १४ फाल्गुन २०७३, शनिबार १९:४७

मध्यपश्चिम खानेपानी तथा सरसफाइ सम्मेलन ३० बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । ‘स्वस्थ सफा गाउँघर, स्वस्थ जीवन हाम्रो रहर’ मूल नारासाथ आयोजित सम्मेलनमा क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चालू आर्थिक वर्षभित्र यस क्षेत्रका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइको यात्रा तय गर्ने लक्ष्य लिएको छ ।

क्षेत्रीय प्रशासक बेगेन्द्रराज पौडेलले बिहीबार उद्घाटन गरेको सम्मेलनमा सरकारका तर्फबाट सुर्खेत घोषणापत्रमा प्रतिबद्धता जनाउन शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह यहाँ आइपुगेका थिए । मन्त्री सिंहले सरकारले दिगो विकास लक्ष्य हासिल गर्न ५ वटै विकास क्षेत्रमा क्षेत्रीय खानेपानी तथा सरसफाइ सम्मेलन गरेर यस क्षेत्रको क्षेत्रगत विकास योजना बनाउन थालेको बताए । उनले खानेपानी तथा सरसफाइ ऐन पनि अन्तिम चरणमा रहेको सुनाउँदै खुला दिसामुक्त घोषणाको सूचकमा महिनाबारी व्यवस्थापनलाई पनि थप्नुपर्ने सुझाए ।

‘अछाममा महिनाबारी बार्न गोठमा बसेकी किशोरीको मृत्यु भएको घटनाले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भयो, मन्त्री सिंहले भने, ‘यसलाई विशेष सवालका रूपमा लिनुपर्छ ।’ उनले नेपालमा सहर बजारको तुलनामा दूरदराजका ग्रामीण बस्तीमा सरसफाइको सचेतना बढी रहेको सुनाए । मेलम्चीलाई आगामी दसैंभित्र काठमाडौं पुर्‍याउने लक्ष्य सुनाउँदै सुरक्षित खानेपानी नहुँदासम्म रोगी नघट्ने तर्क गर्दै स्वास्थ्यमा सुधार ल्याउन पनि सुरक्षित पानी र सरसफाइमा जोड दिनुपर्ने बताए ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले सरकारले ‘एक घर एक धारा र एक चर्पी’ को अवधारणा ल्याएर कार्यान्वयन सुरु गरिसकेको सुनाए । उनले सुर्खेत घोषणापत्रका प्रतिबद्धता पूरा गर्न योजना बनाउने बाचासमेत गरेका छन् । पूर्वका जिल्ला भौतिक पूर्वाधार विकासका हिसाबले अघि भए पनि सरसफाइमा मध्यपश्चिम अघि रहेको उनको कथन थियो ।

मध्यपश्चिमका १५ वटै जिल्लाका जिविस, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सरकारी निकाय प्रमुख तथा प्रतिनिधि, केन्द्रीय तथा क्षेत्रीय स्तरका सरोकारवाला, विकास साझेदार स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाजका प्रतिनिधिसहित १ सय ५० जना सहभागी सम्मेलनमा ५ वटा समूहमा छलफल गरेर घोषणापत्र जारी गरिएको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय प्रमुख इ।चन्द्रबहादुर केसीले बताए ।

केसीका अनुसार घरधुरीको सरसफाइ, विद्यालय, स्वास्थ्य संस्था, ग्रामीण खानेपानी र सरसफाइ, सहरी क्षेत्रको खानेपानी तथा सरसफाइ एवं ढल व्यवस्थापन समूहमा छलफल गरेर घोषणापत्र तयार गरिएको हो । सम्मेलनले मध्यपश्चिम क्षेत्रको खानेपानी तथा सरसफाइ अवस्था सुधार गर्न सबै घरधुरीमा खानेपानी र सरसफाइ पहुँच पुर्‍याउन कार्यपद्धतिमा एकरूपता ल्याउँदै क्षेत्रगत समन्वयमा जोड दिएको छ । सम्मेलनले विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थलको सरसफाइ मुख्य चुनौती रहेको ठहर गर्दै सबै निकायमा अनिवार्य रूपमा प्रयोगमैत्री शौचालय निर्माण र मर्मत सुधार गर्ने, सरकारी, गैरसरकारी तथा सहकारी संस्था सबै सार्वजनिक निकायमा शुद्ध पिउने पानी, साबुन पानीले हात धुने व्यवस्थासहित फोहोर व्यवस्थापन गर्ने, पूर्ण सरसफाइको दिगोपनाका लागि सञ्चार माध्यमसँग सहकार्यमा जोड दिने उल्लेख छ ।

त्यस्तै, फोहोर, दिसाजन्य लेदो र अन्य फोहोर व्यवस्थापनका लागि स्रोतदेखि विसर्जनसम्म स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग हुनेगरी नीति, नियम र सुहाउँदो प्रविधि बनाई लागू गर्ने प्रतिबद्धता गरिएको छ । ग्रामीण तथा सहरी क्षेत्रमा सुरक्षित पिउने पानी, सरसफाइ तथा स्वच्छता सबैका लागि सधैंका लागि पर्याप्त तथा समतामूलक पहुँच सुनिश्चित गर्न सुर्खेत घोषणा महत्त्वपूर्ण हुने जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए ।

सन् २०११ सम्म खानेपानी तथा सरसफाइका सूचकमा सबैभन्दा तल रहेको मध्यपश्चिममा ९ वर्षअघि कालिकोट र ७ वर्षअघि जाजरकोटमा फैलिएको झाडापखालाको महामारीले सयौंको ज्यान लिएपछि सरसफाइ अभियानलाई प्राथमिकता दिएर सञ्चालन गरिएको थियो । ०६३ मा कालिकोटमा १ सय ५० र ०६६ मा जाजरकोटमा ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए । झाडापखालाको मुख्य कारक खुला दिसा भएको ठहर गर्दै मध्यपश्चिमका जिल्लामा खुला दिसामुक्त क्षेत्र बनाउने अभियान चलेको थियो । हाल मध्यपश्चिमका ११ जिल्ला, नेपालगन्जबाहेक २४ नगरपालिकासहित गाविसहरू खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।