☰ open Loading... 3 May 2024|  

गृहमन्त्री निधिले बालकोट पुगेर ओलीसँग ‘माफी मागे’
  | २० फाल्गुन २०७३, शुक्रबार १७:०३

मेची–महाकाली अभियानमा सुरक्षा दिने प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले ‘एमालेको कार्यक्रम विथोल्नु’ भन्ने अभिव्यक्ति आफूले नदिएको स्पष्ट पारेका छन् ।

विहिबार राति बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्री निधिले ‘एमालेको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको’ प्रष्ट पार्दै घुमाउरो पाराले माफी मागेका हुन् ।

निधिले फागुन १५ गते लहानमा भएको नेपाल महिला संघको कार्यक्रममा एमालेका कार्यक्रम विथोलेर लखेट्न आह्वान गरेका थिए । उनले एमालेलाई राष्ट्रघाति भन्दै गाउँ गाउँमा भण्डाफोर गर्न र कार्यक्रम गर्न आए लाठो समाएर लखेट्न भनेका थिए ।त्यसलगत्तै एमालेले गृहमन्त्रीले नै अपराधिक भाषा प्रयोग गरेको विज्ञप्ति निकालेरै आपत्ति जनाएको थियो । विज्ञप्तिमा उसले ‘तराईका कुनै पनि कार्यक्रममा शान्ति सुरक्षा नभए त्यसको जिम्मेवारी गृहमन्त्री र सरकारलेले लिनुपर्ने’ चेतावनी दिएको थियो । र, पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निधिलाई ‘तपाईको काम शान्ति सुरक्षा दिने हो, कसैलाई भड्काउने होइन्’ भन्दै सार्वजनिक रुपमै सचेत गराएका थिए ।

एमालेको चेतावनीपछि गृहमन्त्री निधि विहिबार राति क्षमा माग्न ओली निवास पुगेको स्रोतले बतायो । ‘आफूले बोलेको कुरा स्पष्ट पार्न र मेची महाकाली अभियानमा सुरक्षाको प्रबन्धबारे कुरा गर्न मन्त्रीज्यु बालकोट जानुभएको हो,’ स्रोतले भन्यो– ‘एमाले आक्रोशित भएपछि उहाँले क्षमा मागेरै यो विषयलाई क्लियर गर्नुभयो ।’

भेटका क्रममा ओलीले तपाई कांग्रेसमै हुनुहुन्छ कि छाड्नुभयो भन्दै व्यंग्यात्मक प्रश्न गरेका थिए । ओलीले निधिलाई मधेसी मोर्चामा प्रवेश गरेको हो भन्न खोजेका थिए ।

जवाफमा निधिले त्यस्तो केही नभएको स्पष्ट पार्दै एमालेको मेची महाकाली अभियानको सुरक्षा ब्यवस्थाका लागि निर्देशन दिइसकेको बताए ।